र्‍यापिड टेष्ट विस्तार भएसँगै कोरोना संक्रमितको संख्यामा बृद्धि

सोमबार पाटनमा भर्ना भएका २ को पोजेटिभ एकको पुन परिक्षण हुँदै

0
Shares

भगवती तिमल्सिना,काठमाडौँ ।

सोमबार पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टमा र्यापिट टेष्टबाट परीक्षणमा पोजेटिभ देखिएका ३ जना मध्ये पीसीआर विधिबाट स्वाब परिक्षण गर्दा २ जनाको पोजेटिभ देखिएको र १ जनाकोे रिर्पोट स्पष्ट नभएकाले पुन परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको पाटन अस्पतालका निर्देशक डा.विष्णु शर्माले बताउनुभयो ।

डा. शर्माका अनुसार पुन परिक्षणका लागि नमूना पठाएको बिरामीको भने रिपोर्ट आउन बाँकी छ । बिरामी सामान्य अवस्थामा उपचार भैरहेको उहाँले जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालका साथै अन्य प्रदेशहरुबाट पनि धमाधम रिपोर्ट आई रहेको र कतिपयको पुन परिक्षण गरेर मात्र सार्वजनिक गर्नुपर्ने अवस्था रहेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । डा.देवकोटाका अनुसार पाटन अस्पतालमा पोजेटिभ देखिनेमा सोमबार पेप्सिकोलाबाट ल्याईएका ८१ वर्षे महिला र ५८ वर्षे पुरुष रहेका छन् ।

पेप्सीकोलाको टाउनप्लानिङको सनसिटी अपार्टमेण्टमा बस्ने मध्येका केही व्यक्तिहरु सोमबार अपार्टमेन्ट सिल्ड गर्दा बाहिरै परेकाहरु रातीनै पुख्र्यौली थलोतर्फ लागेका छन् । त्यसैगरि बाहिरबाट काभ्रे पुगेका एक व्यक्तिलाई स्थानियले धरपकड समेत गरेकाले सुरक्षाकर्मीको सुरक्षा घेराभित्रै राखि मंगलबार र्यापिट टेष्ट घरमै गएर गरिएको र रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पताल स्रोतले जनाएको छ ।

उक्त टाउनप्लानिङमा चैत्र ८ गते अधिबेशन समेत भएको र ठूलै संख्यामा राजनीतिज्ञहरु समेतको उपस्थिति रहेको चर्चाले थप त्रासको स्थिति सृजना गरेको छ । संक्रमित व्यक्तिहरुले नजिकैको औषधि पसलबाट पटक पटक सिटामोल खरिद गरि खादै गरेको र नजिकैका ३ वटा एटीएम बुथ समेत प्रयोग गरेको, अपार्टमेन्टका अधिकांसले प्रयोग गर्ने दुईवटा खाद्यान्न पसल समेत सुरक्षाकर्मीले सिल्ड गरि आवश्यक टे«सिङ मंगलबारबाटै शुरु गरिसकेको सुरक्षा स्रोतले जनाएको छ ।

विदेशबाट आउने व्यक्तिहरु स्वस्फूर्त रुपमा स्वास्थ्य परिक्षण गराउन स्वास्थ्य संस्था जानुको सट्टा लुकिछिपी बस्ने र सूचना लुकाउने गरेका कारण संक्रमितको संख्या बढ्ने सम्भावना रहेको धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले जनाएका छन् । आफ्नो स्वास्थ्य र जीवनका लागि गरिएको लकडाउनको पालना गर्नु र समयमै स्वास्थ्य परिक्षण गरि आफ्नो र आफ्नो परिवार, समाज र देशको लागि स्वस्थ जनशक्तिको विकास गर्नु सबैको दायित्व हो भन्ने कुराको ज्ञान हुनु जरुरी रहेको पनि अस्पताल परिसरमा खटिएका सुरक्षाकर्मीहरु बताउँछन् ।

हाल सम्म संक्रमित प्रमाणित भएकाहरुको टुेकु अस्पतालमा २ जना पाटन अस्पतालमा २ जना धौलागिरी अस्पतालमा २ जना सेती अञ्चल अस्पतालमा ५ जना विरगञ्जमा ४ जनाको उपचार भैरहेको छ । संक्रमित प्रमाणित भएका १६ जना मध्ये एक जना २ महिना पहिलानै निको भएर घर फर्किसकेका र १५ जनाको माथि उल्लेखखि विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचार भैरहेको डा.देवकोटाले बताउनुभयो ।

हाल सम्म ५६ स्थानबाट र्यापिट टेष्ट थालनी गरिएको र र्यापिट टेष्टमा पोजेटिभ रिपोर्ट आएका मध्ये शंकासपदलाई पुन दोहोर्याउँदा कतिपयमा नेगेटिभ पनि आएको र कति नेगेटिभ रिपोर्ट आएकाको पोजेटिभ पनि देखिनुले र्यापिट टेष्ट गर्ने मेशिन प्रतिको विश्वस्नियतामा शंका उत्पन्न भएको छ ।
शंका लागेको रिपोर्टलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेलबाट पुनः परिक्षण गरि आएको रिपोर्टलाई मात्र स्वास्थ्य मन्त्रालयले आधिकारीक रुपमा घोषणा गर्दै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना आशंकमा हालसम्म पिसीआर विधिबाट ६ हजार २ सय ९९ जनाको नमुना परीक्षण गरिएको छ । जसमध्ये उपत्यका बाहिर १ हजार १ सय ८० को नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

र्यापिट टेष्ट ६ हजार ६ सय ७ नमूना परीक्षण भएको छ । खासगरी विदेशबाट आएका मानिसमा र्यापिट टेष्ट विधिबाट ५ हजार ७ सय ७१ जनाको परिक्षण भएको मन्त्रालयले जनाएको छ । हाल देशभर आइसोलेसनमा ९९ जना रहेका छन् । जसअन्तर्गत उपत्यकामा १२ र उपत्यका बाहिर ८७ जना रहेका छन् । रेड जोनमा २ सय २८ जना रहेको डा. देवकोटाले बताउनुभयो ।