सनसिटी अपार्टमेण्टभित्रका ५ सय १० परिवार त्रासमा

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

काडाँघारीस्थित सनसिटी अपार्टमेण्टको पन्ध्रौँ तलामा बस्दै आएका एकै परिवारका दुई जनामा कोरोना भाईरस अर्थात् कोभिड १९ संक्रमण भएको पुष्टि भएपछि अपार्टमेण्ट नै त्रसित बनेको छ । सोमबारदेखि नै अपार्टमेण्ट सिल गरिएको छ । त्यहाँ बसोबास गरिरहेका ५ सय १० परिवारका करिब १५ सय जना अहिले कडा होम क्वारेण्टाईनमा बसिरहेका छन् ।

चैत्र ५ गते लण्डनबाट नेपाल फर्किएका आमा, छोरा र बुहारी यस अपार्टमेन्टको ‘ए’ ब्लकको १५ औं तल्लामा बस्दै आएका थिए । आमा ८१ वर्षीया, छोरा ५८ वर्षीय र बुहारी ५२ वर्षिया हुन् । उनीहरुमध्ये आमा र छोरामा कोभिड–१९ पुष्टि भएको छ । र्‍यापिड टेस्टमा छोरालाई पनि पोजिटिभ देखाएको थियो तर, टेकु प्रयोगशालामा गरिएको पीसीआर टेस्टमा नेगेटिभ देखिएको थियो ।

अपार्टमेन्टमा ६ वटा ब्लकहरू रहेका छन् । संक्रमितहरु बस्ने ब्लकमा करिब एक सय परिवार बस्छन् । एउटा फ्ल्याटमा ६ वटा परिवार बस्छन् । ब्लकका सबैले साझा लिफ्ट प्रयोग गर्छन् । संक्रमित परिवारका व्यक्तिहरुले कुकुर लिएर तल कम्पाउन्डमा डुलाउने पनि गर्थे ।अपार्टमेन्ट वरिपरीका बासिन्दा पनि घरबाट बाहिर निस्केका छैनन् ।

सनसिटी अपार्टमेण्टमा बस्ने र परिक्षका लागि ६१ जनामध्ये हिजो तीन स्थानमा ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संक्रमित परिवारका तीन जना परीक्षणका लागि मुलपानी नगर अस्पतालमा आएका थिए । अस्पताल आउँदा तीनैजना सामान्य अवस्थामा रहेका बताईएको छ ।

र्‍यापिड टेस्टको रिपोर्ट आउन करिब १५ मिनेट लाग्छ । त्यसैले तीनजना रिपोर्ट नआउञ्जेल त्यहीँ पर्खेर बसेका थिए । रिपोर्टमा पोजिटिभ देखिएपछि उनीहरु अपार्टमेन्ट फर्किन पाएनन् ।