चिकित्सकको प्रशंसा


काठमाडौं, (नेस)

नेपाल चिकित्सक संघले सम्पूर्ण नागरिकहरुको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै सम्पूर्ण स्वास्थ्यकर्मीहरुको समर्पणको प्रशंसा गरेको छ ।

कोरोना संक्रमणका बेला स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै सीमित स्रोत साधनका बाबजुद पनि निर्वाह गरेको अतुलनीय योगदानप्रति नेपाल चिकित्सक संघ उच्च प्रशंसा गर्दै यस नयाँ वर्षको आगमनसँगै कोरोना भाइरस संक्रमणलाई रोक्नसक्ने क्षमता मिलोस् भन्ने शुभकामना संघको सन्देशमा छ ।

यस संक्रमणबाट सारा नेपाली नागरिकहरुलाई जोगाउन २०७७ सालको आगमनसँगै आक्रामक र पारदर्शीरुपमा सूचना प्रवाह गर्ने, ठूलो संख्यामा परीक्षण गर्ने, संक्रमित र जोखिम भएको व्यक्तिलाई आइसोलेसन र क्वारेन्टाइनमा राख्ने, आवश्यक व्यक्तिलाई उपचार गर्ने र संक्रमित स्थान र वातावरणलाई संक्रमणरहित बनाउने अभियानलाई द्रूतरुपमा अघि बढाउन संघले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ ।

संघले सम्पूर्ण नागरिकहरु एकान्तवास बस्ने, सामाजिक दूरी कडाइका साथ कायम गर्ने तथा चिकित्सकलाई कोरोनाविरुद्ध लड्न सघाउने कार्यका लागि पनि अनुरोध गरेको छ ।