खानपिनमा ध्यान दिऔं


स्वास्थ्य सबै थोक हो । स्वास्थ्य सबैभन्दा ठूलो धन हो । स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो । शरीर स्वस्थ रहे धन कमाउन सकिन्छ । शरीर अस्वस्थ भएपछि धन खर्चेर पनि स्वास्थ्य फिर्ता गर्न सकिँदैन । अहिले पूर्णरुपमा स्वस्थ मानिस भेट्न मुस्किल पर्छ । हरेक परिवारमा एउटा न एउटा स्वास्थ्य समस्या नरहेको मानिस भेट्न गाह्रै पर्छ । त्यसकोे प्रमुख कारण खानपिन नै हो ।

आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुन नसक्दा जानी–नजानी मानिसहरुले रोग निम्त्याइरहेका हुन्छन् । अहिले अनेक व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा बिक्री वितरण भइरहेको पाइन्छ । तर मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता अस्वस्थ खानेकुराको बिक्री वितरण नियन्त्रण गर्नेतर्फ जिम्मेवार निकायले चासो देखाएको पाइँदैन ।

विशेष गरी विद्यालय, क्याम्पस, सार्वजनिक स्थल तथा मानवीय चाप बढी हुने स्थानहरुमा यस्ता खानेकुराको निर्बाध बिक्री हुने गर्दछ । स्वास्थ्यको दृष्टिले खानयोग्य नभए पनि कतिपय खाद्यपदार्थ खुलारुपमा बिक्री हुँदै आएको पाइन्छ । सडकको फुटपाथ, चोक, चौबाटोदेखि चौतारासम्ममा जथाभावी पाइने खाद्यपदार्थ कति स्वास्थ्यवद्र्धक छ, त्यसको परीक्षण गर्ने परम्परा हामीकहाँ छैन ।

अस्वस्थ खाद्यपदार्थको सेवनबाट झाडापखाला, टाइफाइड, जन्डिसजस्ता संक्रमणयुक्त रोग लाग्न सक्छ । फोहोर खानेकुरा र दूषित पानीकै कारण अधिकांश रोग लाग्छ तर सरोकारवालाले अखाद्य पदार्थको सेवन रोक्ने अभियान चलाउन सकेको छैन ।

केही वर्षयता साना व्यवसायीको कमाइ खाने माध्यम यस्तै सडकछेउमा भइरहेको पाइन्छ । सस्तो खाजाका परिकार, चटपट, पानीपुरीलगायत छिटो र मीठो हुने नास्ताका लागि युवापिँढीको आकर्षण हुने गर्छ । सानो पुँजी हुने जो–कसैले पनि यस्तो पेसा गरेर आफ्नो जीवन गुजारा चलाउन सडकछेउ, रिक्सा÷ठेलामा यस्ता अखाद्य वस्तुहरु बिक्री हुँदै आएका छन् । व्यापार गर्ने कतिपयलाई आफूले अस्वस्थ खानेकुरा बिक्री गरिरहेको ज्ञान हुँदैन । र, कतिपयले कमाइ हुने नाममा स्वास्थ्यका लागि घातक रसायनको प्रयोग गरी जथाभावी खानेकुरा बेच्दै पनि आएका छन् ।

जनस्वास्थ्यको ख्यालै नगरी सार्वजनिक स्थलमा जथाभावी खानेकुरा बिक्री हुँदा स्थानीय निकायहरुले रोक्ने प्रयास गरेको देखिँदैन । जिल्ला प्रशासन कार्यालयको खाद्य निरीक्षण एकाइले पनि यसमा चासो देखाएको पाइँदैन । भरतपुर महानगर र केही नगरपालिकाले सडक दुर्घटना र नगरक्षेत्रलाई व्यवस्थित गर्न फुटपाथमा व्यापार गर्नेहरुलाई बजार क्षेत्रबाट स्थानान्तरण गरे पनि जनस्वास्थ्यमा असर पार्ने खानेकुरा बेच्न निरुत्साहित गर्ने काम भने कोही–कसैबाट भएको पाइँदैन ।

अस्वस्थ खाद्यपदार्थ नियन्त्रण गर्नु भनेको सार्वजनिक स्थानमा व्यापार गरेर जीवन धान्नेहरुलाई पेसाबाटै विस्थापित गर्नु होइन । उनीहरुलाई व्यवस्थित तरिकाले व्यापार गर्न सिकाउनु पनि हो । कतिपय यस्ता व्यापार गर्नेहरुले अज्ञानताका कारण अखाद्य पदार्थ बिक्री वितरण गरिरहेका हुन्छन् । तिनीहरुलाई चेतनामूलक ज्ञान दिन सकिन्छ । कोहीले जानाजान अखाद्य रंग मिसिएका र मानव स्वास्थ्यका लागि असर पार्ने पदार्थहरु मिसाएर मिठाई तथा अन्य खाद्य परिकारहरु बिक्री गरिरहेका हुन्छन्, तिनलाई प्रभावकारी अनुगमन तथा गुणस्तर परीक्षण गरेर नियन्त्रण गर्न सकिन्छ ।

नेपालमा खाद्य सुरक्षा र उपभोक्ता हितका निम्ति संवेदनशील निकाय निष्क्रियजस्तै बन्न पुगेको छ । उपभोक्ता स्वयं आफ्नो स्वास्थ्यप्रति चासो राख्ने कमै मात्र भेटिन्छन् । छिटो र मीठोका नाममा आफ्नो स्वास्थ्यलाई दाउमा राख्ने जमात दिनहुँ बढ्दो छ । रोग लाग्नबाट बच्न र स्वस्थ रहन सामान्य गतिविधिमा ख्याल राखे पुग्छ । समयमै सचेत बन्न सकियो भने गम्भीर स्वास्थ्य समस्या आउनुअगावै जोगिन सकिन्छ । समयमै सचेत बनौं ।
– विज्ञान शर्मा, रसुवा ।

नेपाली समाज किन यस्तो ?
आमाबाबुबाट सम्तान र सन्तानबाट आमाबाबु । आफन्तबाटै आफन्त असुरक्षित हुने अवस्था आएको छ । हामीले सभ्य, न्यायपूर्ण र सुरक्षित समाजको परिकल्पना गरेको दशकौँ भइसकेको छ । तर कुनै न कुनै रुपमा समाज असुरक्षित छ । पछिल्लो समय त नैतिक मूल्यको यतिसम्म ह्रास हुँदै आएको छ कि बलात्कार, हत्या र अपहरणजस्ता जघन्य अपराध बढोत्तरी भइरहेका छन् । आफन्तैबाट यस्ता गतिविधि भएका समाचार न्यूज अफ नेपालमा आइरहेका हुन्छन् । देशमा आपराधिक समूहहरुको उपस्थिति देखिँदैन, कुनै अराजक समूहका कारण समाज असुरक्षित भएको भन्ने प्रमाण पनि छैन । तर दिनहुँजसो बलात्कार, बलात्कारपश्चात् हत्या, अपहरण, चोरी–डकैतीजस्ता अपराधले समाज भयभित र त्रसित छ ।

देशको राजधानी जहाँ लाखौँ व्यक्तिको जीवन धानिएको छ, सपना जोडिएको छ । त्यहाँको सुरक्षा स्थिति हेर्दा कोही पनि नेपाली सुरक्षित रहेको अनुभूति गर्न सकिँदैन । सबैभन्दा कडा सुरक्षा निगरानीमा रहेको ठानिने राजधानी काठमाडौँमा बलात्कार, अपहरण र हत्याका घटना बढेका छन् । सन्तानको भविष्यको सुन्दर सपना बोकेर सानोतिनो व्यापार तथा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने थुप्रै अभिभावक राजधानीमा अटाएका छन् । एकपटक ११ वर्षीय स्कुले बालक निशान अपहरणकारीको निशानामा परे । अपहरणकारीले आमा चमेलीसँग ४० लाख फिरौती मात्रै माग गरेनन्, निशानको प्राणपखेरू नै उडाइदिए ।

यो कहाली लाग्दो घटनाले सिंगो समाज तरंगित हुन पुगेको थियो त्यस बेला । पछिल्लो समय बलात्कार, अपहरण र हत्याका घटना प्रहरी प्रशासनका लागि ठूलो चुनौती भइरहेका छन् । नेपालको संविधानमा मृत्युदण्डको प्रावधान छैन । यद्यपि, अपराधको बढोत्तरीले कारबाहीको दायरा फराकिलो बनाउनुपर्ने स्वर उठिरहेको छ । ‘प्रहरी देखेर समाज तर्सने’ स्थिति आयो भने समाजले कसरी सुरक्षाको प्रत्याभूति गर्ने ? राज्यको दायित्व भयरहित समाजको अनुभूति जनतालाई प्रदान गर्ने हो । अपराधीलाई मारेर होइन, सुधार गरेर समाजमा स्थापित गर्ने हो । त्यसैका लागि सुधारगृह अर्थात् कारागारको व्यवस्था गरिएको हो । प्रहरीले पर्याप्त प्रमाणका आधारमा अपराधको सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रियामा सहयोग पु¥याउने हो ।

सरकारले देशमा शान्ति सुरक्षाको स्थिति बलियो रहेको बताउँदै आएको छ । गृहमन्त्रीले सुरक्षा संयन्त्र चुस्त रहेको अभिव्यक्ति दिँदै आएका छन् । तर, समाजमा अपराधका घटना झनै बढ्दै गएका छन् । प्रहरीको प्राथमिकता त अपराध हुन नदिनु, अपराध भइहालेमा प्रमाण सुरक्षित गर्नु र अपराधीलाई कानुनी दायरामा ल्याउनु हो । तर जघन्य अपराधमा पनि प्रहरी निकायबीच समन्वय हुन सकेको छैन । देशको शान्ति सुरक्षा मजबुत नभएसम्म आपराधिक घटना निरुत्साहित हुँदैन । त्यसका लागि सरकारले कानुनी राज्य स्थापना गर्दै आमनागरिकलाई सुरक्षाको अनुभूति दिलाउनु जरुरी देखिएको छ ।– रामनारायण चौधरी, कैलाली ।
हाल ः बूढानीलकण्ठ, काठमाडौं ।