समितिलाई सक्रिय बनाउने गृहकार्यमा सभामुख सापकोटा


काठमाडौं, (नेस)

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि संसद्ले खेल्नुपर्ने भूमिका विषयमा सभामुख अग्निप्रसाद सापकोटाले गृहकार्य थाल्नुभएको छ । उहाँले संसद् सञ्चालन नहुने अवस्थामा संसद्अन्तर्गत रहेका समितिलाई सक्रिय बनाउने गरी परामर्श थाल्नुभएको हो ।

सभामुख सापकोटाले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि संसद्ले खेल्नुपर्ने भूमिकाको विषयमा आज मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सभामुख सापकोटाका प्रेस सल्लाकार श्रीधर न्यौपानेले सभामुख सापकोटाले अहिलेको समसामयिक परिस्थितिका बारेमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको जानकारी दिनुभयो ।

संसद् चल्न नसक्ने अवस्थामा सांसदले खेल्नुपर्ने भूमिकाको साथै समितिलाई सक्रिय बनाउने विषयमा छलफल हुने बताइएको छ । त्यसै गरी संसद् विकास कोषअन्तर्गत खर्च हुन नसकेको बजेट रकामान्तरण गरेर कोरोना रोकथाम तथा उपचार कोषमा पठाउने विषयमा पनि समितिको बैठकमा छलफल हुनेछ ।
सभामुख सापकोटाले कोरोना रोकथाम र नियन्त्रणका लागि सातवटै प्रदेशका सभामुख÷उपसभामुख, संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग दैनिकरुपमा परामर्श गरिरहनुभएको न्यौपानेले जानकारी दिनुभयो ।

सभामुख सापकोटाले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारबारे संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट सुझाव लिँदै आउनुभएको छ । सरकारले लकडाउनको घोषणा गरेसँगै संसद्का चालू दुवै सदनको बैठक अन्त्य भएको पत्र राष्ट्रपतिसमक्ष पठाएको थियो । संसद् बैठक नियमितरुपमा नबस्ने भएपछि संघीय संसद्मा रहेका २ सय ७५ जना सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा परिचालन गर्ने तयारी सभामुख सापकोटाले गर्नुभएको छ ।

कोरोना भाइरसको रोकथाम र उपचारका लागि संसद् विकास कोषअन्तर्गतको बजेट कोरोना उपचार कोषमा राख्नुपर्ने सुझाव आइरहेको बेला सभामुख सापकोटाले यसबारेमा छलफल अगाडि बढाउनुभएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र नै संसद् विकास कोषको बजेट कोरोना उपचार कोषमा हाल्नुपर्ने दबाब रहेको छ । संसद् विकास कोषअन्तर्गतको बजेट केही सांसदहरुले खर्च गरिसकेका छन् भने केही सांसदहरुले अझै खर्च गर्न सकेका छैनन् ।