रौतहटका युवा १४औं संक्रमित अस्पताल लाने तयारी


काठमाडौं, (नेस)

नेपालमा परीक्षणलाई तीव्र बनाउँदै लगेकै कारण कोरोना संक्रमित (कोभिड–१९) का बिरामी फटाफट फेला पर्न थालेका छन् । पछिल्लो केस रौतहटमा क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवामा भेटिएसँगै नेपालमा १४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको कोरोना अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएअनुसार युवाको क्वारेन्टाइनमै बसेको अवस्थामा नमुना संकलन गरिएको र राष्ट्रिय जानस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ पाइएको हो । संक्रमित युवा कहाँबाट कहिले आएका र कहिलेदेखि क्वारेन्टाइनमा थिए भन्ने कुरा मन्त्रालयले खुलाएको छैन ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ५ सय १९ जनाको नमुना परीक्षण भएको छ । कोरोनाको आशंकामा नेपालमा हालसम्म ५ हजार ६ सय ९१ जनाको नमुना परीक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ९ र बाहिर ९४ गरी जम्मा १ सय ३ जना आइसोलेसन वार्डमा भर्ना भई उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । मुलुकभर हाल ७ हजार १ सय ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । २ सय १९ जना रेड जोनमा रहेको बताइएको छ ।

यसअघि सोमबार बिहान मात्रै कैलालीको लम्की चुहा नगरपालिका–१ भरुवाकी वृद्धामा समेत कोरोना पोजेटिभ प्रमाणित भएको थियो । संक्रमितको सेती प्रदेशिक अस्पतालमा उपचार शुरु भइसकेको छ ।