महामारीभित्र अभिभावक नपाएको जनजीवन

0
Shares

अस्मिता शाह ।

‘ए दाई ! मलाई जसरी भएपनि एउटा नेपाल ग्यास ल्याइदिनु है, के गर्नु आफू त भोकै बसिएला, तर बच्चालाई त खुवाउनै पर्‍यो ।’

बिहानको ६.० नबज्दै सुनिएको यो शब्दले मलाई सोचमग्न बनायो । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सिर्जना गरेको यो परिस्थितिले मलाई मात्र नभएर सारा विश्लाई सोचमग्न बनाएको छ । सुर्योदय नहुँदै एक आमाको मनले बोलेको यो बोली अहिलेको परिस्थितिमा सामान्य बनेको छ । लाखौं मानिसको बसोबास रहेको देशको राजधानी सहर काठमाडौंका हरेक गल्लीमा यस्ता पीडादायी शब्दहरु दिनहुँ गुञ्जिइरहेका छन् । विश्वभर फैलिएको यस महामारीले अधिकांश मुलुकमा लकडाउनको स्थिति सिर्जना गराएको छ । नेपालमा पनि चैत ११ देखि २३ गतेसम्म देशभर लागू गरिएको लकडाउन बैशाख ३ गतेसम्मका लागि थप लम्ब्याइएको छ ।

लकडाउनको चपेटामा सबैभन्दा बढी दिनहुँ ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका मानिसहरु परेका छन् । एकबाट अर्कामा भाइरस नफैलियोस् भन्दै सावधानीका रुपमा गरिएको लकडाउनको अर्थ केही मानिसले भने बुझ्न नसकेको देखिएको छ । भर्खर जेलबाट निस्किएको कैदी झैं मानिस खाद्यान्न संचयका लागि छुट्टाइएको बिहान र बेलुकाको समयलाई डुल्ने र एक ठाउँ जम्मा भई गफ लगाउने समयका रुपमा लिएका छन् ।

‘मान्छेहरु पनि भेडा नै हुन्छन् है ! त्यो परको चोकमा दसबाह्रजना जम्मा भएर गफ गर्दै छन्, यस्तो बेलामा त आआफ्नो घरमा बस्नु नि ।’ नजिकैको किराना पसलमा जम्मा भएका पाँचजना अन्टीहरु कुरा गर्दै थिए । आधा घण्टा अघि पसलमा सामान किन्न आएकी अर्की अन्टीले फर्काइन्– ‘अँ के कस्तो नबुझेका हुन्, जहिले सरकारलाई मात्र दोष लगाउँछन् । आफूले पनि भनेको मान्नुपर्छ नि ।’

यस्तै घण्टौंको समयमा विभिन्न कुराहरु गर्दै कहिले कुराले त कहिले हाँसोले उनीहरुले त्यहाँको वातावरण गुन्जायमान बनाइरहेका थिए । हिजोअस्ति ठूलाठूला राजनीतिक तर्क गर्ने टोलका अंकलहरु भने आज गायब भएका थिए । कहाँ गए होलान् त ? के साँच्चै उनीहरुले गरेका परिवर्तनका कुरा लागू गर्ने उद्देश्यले कतै गए कि ? मनमा एक प्रकारको उत्सुकता जागिरह्यो । गफगाफको अन्त्य गरेर तरकारीको प्लाष्टिक बोक्दै दुई भर्याङमाथि आइपुगेकी छिमेकी अन्टीले मलाई देखेपछि भनिहालिन्– ‘कस्तो अल्छी लागिसक्यो, के गरेर बस्ने होला है ।’

मैले फर्काए– ‘हो नि अन्टी के गर्ने के नगर्ने ?’ उनले भनिन्– ‘बरु केटामान्छे भएर जन्मिएको भए आनन्द हुन्थ्यो, कहिले सुख पाइएन ।’ मैले फेरि सोधे– ‘किन र अन्टी ?’ उनले फर्काइन्– ‘उनीहरुलाई त रमाइलो छ नि, जहिले पनि न त फुर्सदको बेला घरको काम सघाउँछन्, न अरु बेला नै ! माथि कोठामा छसातजना भएर तास खेल्दै छन्, खानेकुरा बनाउँदा बनाउँदा थाकिसके ।’ यति भन्दै अन्टी हतारिंदै माथितिर लागिन् ।

महिला अधिकारका विषयमा धेरै मानिसहरु बोलेको देखेको छु । तर व्यवहारमा सायदै कसैले लागू गरेको होला । जन्मदेखि नै कामको बाडँफाँड गरिएको हाम्रो पितृसत्तात्मक समाजमा छोरालाई डाक्टर, इन्जिनियर, पाइलट हुनु भन्दै आशिष दिइन्छ भने छोरीलाई बत्तिस लक्षणयुक्त हुनु, घर गरेर खानु, आमाबाको इज्जत नफाल्नु । सोच्छु, यो आमाबुबाको इज्जतको पोको छोरी मान्छेको थाप्लामा मात्र बोकाइएको किन होला ? कहिलेकाहीं त म आफैलाई पनि छोरीमान्छे भएकोमा अफसोच लाग्ने जस्तो हुन्छ !

२१ औं शताब्दीमा समेत घर, समाज, काम, बजार हरेक ठाउँमा महिलालाई अवहेलना गरिन्छ । लकडाउनकै कारण पनि कयौँ महिलामाथि हिंसा बढेको कुरा दिनहु समाचारमा सुनिइरहन्छ । लकडाउनले मानिसको पारिवारिक जीवनमा मात्र होइन, देश र विश्वकै राजनीतिक परिवेशमा समेत उथलपुथल ल्याइरहेको छ । बेलुकीपख बाटोतिर डुल्न निस्किएका एकजना अंकलले भने– ‘यस्तो महामारीको बेलामा पनि सरकारले केही गर्न सकेको छैन, बरु राजाले नै केही मात्रामा भएपनि सहयोग गर्ने बाचा गरेका छन् । अहिले त राजा हटाएर नि गल्ति गर्यौ कि जस्तो लाग्न थालेको छ ।’

यस्ता विभिन्न टिप्पणी सुन्दा मानिस सरकारप्रति आशावादी नभएको भान हुन्छ । निराश नहोऊन् पनि किन ? देश र जनताको हितका लागि चुनेर पठाइएकाहरुबाट यस्तो अवस्थामा पनि कुनै प्रकारको सेवा र सहयोगको तत्परता देखिएको छैन । नयाँ वर्षको सम्बोधनमा प्रधानमन्त्रीले कोरोना संक्रमणका कारण सिर्जित देशको परिस्थितिबारे बोल्दै ‘कोरोना महामारीबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रहरुको अभिभावकत्व सरकारले लिन्छ, जनतालाई महामारीबाट उम्काइनेछ र रोजीरोटीको जोहो गरिने छ’ भनेका छन् । तर तीनसाताकै छोटो लकडाउनले निम्त्याएको उपभोग्य सामानहरुको अभाव पूरा गर्न लगायतका अन्य सेवा र सुविधाहरुको कुनै ठोस योजना र कार्यक्रमबारे उनले बोलेका छैनन् । यसरी उधारो आश्वासन मात्र बाँड्ने हो भने जनताको साँझ बिहानको समस्या कसरी टर्ला ? विश्वका विकसित मुलुकलाई समेत सिकिस्त बनाएको यस भाइरसले नेपालजस्ता विकासोन्मुख देशको अवस्था झन् कस्तो बनाउला ? के सरकारसँग कुनै प्रकारको योजना र कार्यक्रमिक पूर्वतयारी छैन ?

सामान्य स्वास्थ्य उपकरण समेत नभएर चिकित्सकको समूह निराशामा डुबेको छ भने साझँबिहान खानासमेत नपाउने अवस्थामा रहेका मजदुर परिवारभित्र रोदन छ । यस्तो कहालीलाग्दो परिस्थितिमा समेत स्वास्थ्य उपकरण र राहतको विषयमा सरकार भ्रष्टाचारमा मुछिन पनि पछि परेको छैन । देशका गन्यमान्य खर्बपति व्यापारी केवल लाखमा बिक्न पछि परेका छैनन् । सरकारले खडा गरेको राहत कोषमा करोडौं रुपैँया जम्मा भएको समाचार दिनहुँ नसुनिएको पनि होइन । केही ठाउँमा बाँडिएका राहत देख्दा यस्तो लाग्छ मानौ त्यो कुनै प्राणीका लागि उपलब्ध गराइएको होइन । त्यसो त राहतको नाममा दुई किलो चामल दिंदै गर्दा फेसबुक भरिने गरी सेल्फी खिचेर गरीबको मजाक उडाउनेहरुको संख्यामा कुनै कमी देखिएको छैन ।

सबैको अभिभावकको रुपमा रहेको सर्वोच्च निकाय सरकार स्वयम् अरुले गरेका यस्ता क्रियाकलापमा चासो व्यक्त गरिरहेको छैन । साथै, आफूले लिनु पर्ने जिम्मेवारीमा पनि क्रियाशिलता देखा परिरहेको छैन । जनता अझैं पनि सरकारले केही गरोस् भनी आशा पालेका भने देखिन्छन् । संक्रमणले उग्ररुप नलिदै इमान्दार भई सबैलाई एकजुट बनाएर सही कार्ययोजना बनाएमा सरकारप्रतिको जनाताको आशा केही हदसम्म व्यवहारमा परिणत हुने थियो पनि । संसारभर लाखौं मानिसको ज्यान लिइरहेको भाइरसले हामीलाई खतरामा पुर्‍याउदैन भन्ने भ्रम पालेर बस्यौं भने भीरमा पुगेको गोरुलाई राम राम भन्न त सकिएला तर काँध थाप्ने विकल्पसम्म हामीसँग बाँकी रहेको हुने छैन ।