पूर्व प्रशासक एवम् साहित्यकार न्यौपानेको निधन

188
Shares

न्युज अफ नेपाल, ललितपुर।

पूर्व प्रशासक एवम् साहित्यकार तुलसी प्रसाद न्यौपानेको निधन भएको छ ।

गए राती १:०० बजे आसपास आफ्नै निवासमा ७२ बर्षको उमेरमा उनको निधन भएको हो । न्यौपानेको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । न्यौपाने मुटु सम्बन्धी रोगबाट ग्रसित थिए । तुलसी प्रसाद न्यौपानेको जन्म गोर्खा जिल्ला स्थित पालुङटारमा भएको थियो ।

तीन दशक भन्दा लामो समय निजामती सेवामा विताएका न्यौपानेले अधिकांश समय योजना आयोग र अर्थ मन्त्रालयमा रहेर काम गरेका थिए । अर्थ मन्त्रालय रहदा उनले बढि जसो समय वैदेशिक शाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसो त न्यौपानेले एसियाली विकास बैंकको मुख्यालयमा नेपाल सरकारको प्रतिनिधीका रुपमा रहेर समेत कार्य गरेका थिए । महादेशिय यात्रा, बिर्सिएका कविताहरु, नलेखिएका कथा लगायत एक दर्जन भन्दा बढि साहित्यिक कृतिहरु रचना गर्दै न्यौपानेले नेपाली साहित्यको भण्डार भर्ने कार्य पनि गरेका छन् । न्यौपानेद्वारा लिखित यात्रा संस्मरण महादेशिय यात्राले नेपाली साहित्य फाँटमा उच्च स्थान ओगटेको छ । साथै, उनको लेखन कला, शिल्प र शैलीका कारण उनका हरेक सिर्जनाहरु पठनिय रहने गरेका छन् । उनी गोर्खा सर्जक समाजको अध्यक्ष समेत हुन ।

साथै, उनले रोटरी इन्टरनेशनल र लायन्स क्लबमा आवद्ध रहदै महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनलाई सामाजिक चेतका धनी ब्यक्तिका रुपमा लिने गरिन्छ । हाम्रो भन्दा राम्रो र असल मानिस् बन्नुपर्छ भन्ने भाव उनमा निहित थियो । स्वर्गिय न्यौपानेका एक छोरा, एक छोरी, बुहारी र तीन नाती नातिना छन् ।