‘कृषिजन्य सामग्रीको निर्बाध उपभोग गराऊ’


नेपाल समाचारपत्र, काठमाडौं

संघीय संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले दूध, माछामासु, तरकारी, फलफूलजस्ता कृषिजन्य सामग्रीको निर्बाध उपभोग गर्ने वातावरण बनाउन निर्देशन दिएको छ । समितिले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयहरूलाई निर्देशन दिएको हो ।

मुलुक लकडाउन भइरहेको अवस्थामा नेपाली कृषकको उत्पादन निर्बाधरुपमा उपभोक्तासमक्ष पुग्न समस्या भएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्तो अत्यावश्यक वस्तुको निर्बाध उपभोग हुने वातावरण बनाउन निर्देशन दिइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिनुभयो ।

समितिले दिएको निर्देशनमा भनिएको छ– ‘दूध उत्पादक किसानले बजारको समस्याका कारण उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था भएको हुँदा सुरक्षित तरिकाले दूध संकलन एवम् बिक्री गर्ने प्रबन्ध तत्काल गर्नुपर्ने ।’

‘दूधको उपभोक्ता विशेष परिस्थितिले गर्दा कम वा बजारसम्म बाहिर ननिस्किँदा दूध खपत नहुने अवस्था भएकामा उत्पादित दूध पाउडर बनाउने प्रयोजनका लागि उद्योगमा पठाउने व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गर्ने’ भनी निर्देशन दिँदै भनेको छ ।

समितिले कैलाली जिल्लाको टीकापुरमा केरा उत्पादक किसान तथा देशैभरका किसानलाई हालैका दिनमा परेका समस्याको स्मरण गर्दै कुखुरा, अण्डा, माछामासु, तरकारी, फलफूल उत्पादक किसानहरूलाई देशभर लागू भएको लकडाउनबाट पुगेको क्षति अपुरणीय रहेको जनाएको छ ।

समितिले भनेको छ– ‘एकातर्फ किसानबाट उत्पादित कृषिजन्य पदार्थको पहुँच बजारसम्म हुन सकेको छैन भने अर्कोतर्फ उक्त वस्तुहरू उपभोक्ताले सहजरुपमा पाउन नसकेको अवस्था छ । तसर्थ, किसानबाट उत्पादित कृषि सामग्रीहरू सुरक्षितरुपमा तत्काल बजारमा पु¥याउने व्यवस्था मिलाउन निर्देशन दिने ।’