वीरगन्जकोमा तीन भारतीयमा कोरोना संक्रमण, बाग्लुङमा थप एक महिलामा कोरोना पोजेटिभ


काठमाडौं, (नेस)

कोरोना संक्रमणले विश्वव्यापीरुपमा महामारीको रुप लिइरहेका बेला नेपालमा थप ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगन्जको छपकंैयामा रहेको जामे मस्जिदमा बसिरहेका भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पुष्टि गर्नुभएको छ ।

शुक्रबार हेटौंडाको प्रयोगशालाको रिपोर्टमा पोजेटिभ देखिएपछि नमुना टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको र प्रयोगशालामा दुईपटक परीक्षण गर्दा पोजेटिभ नै आएको उहाँले बताउनुभयो ।

संक्रमित तीनैजना १५ दिनदेखि मस्जिदमा एक धार्मिक कार्यक्रमका लागि आएर बसेको बुझिएको छ । कोरोना संक्रमण पुष्टि भएका दुई जना उत्तर प्रदेश र एक जना दिल्लीका भएको बुझिएको छ । संक्रमित तीनै जनालाई वीरगन्ज प्रहरीले समन्वय गरेर अस्पताल पु¥याएको बुझिएको छ ।

शनिबार टेकुमा कोरोना संक्रमण पुष्टि भएका तीनै जनाको नमुना त्यसअघि हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरी पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको स्रोतको दाबी छ ।

नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मस्दिजमा रहेका कोरोना संक्रमण पुष्टि भएका भारतीय नागरिकका साथमा रहेका अन्य २६ जनालाई समेत वीरगन्ज प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्दै नमुना संकलन कार्य अघि बढाएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार मिडिया ब्रिफिङमा पर्साको वीरगज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पदरुपमा रहेका २१ जनाको परीक्षण गरेको बताउनुभयो ।

उहाँले तीमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड–१९ को शंका लागी नारायणी अस्पताल, वीरगन्जमा आइसोलेसनमा राखी निजहरूको समेत थ्रोट स्वाब कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको बताउनुभयो ।

परीक्षणमा २१ जनामध्ये शंकास्पद तीन जनाको पोजेटिभ देखिएपछि एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९ गते पुनः परीक्षण गरिएकोमा पोजिटिभ नै देखिएको हुँदा उनीहरूको संसर्ग र गएको स्थान पहिचान गरी कन्ट्याक ट्रेसिङ गर्ने कार्यहरू भइरहेको जानकारी गराउनुभएको छ ।

थप एक महिलामा कोरोना पोजेटि

दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बाग्लुङमा थप एक महिलामा द्रूत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेस्ट) पोजेटिभ देखिएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको दू्रत परीक्षण गरिएकोमा काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीकी ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो । ¥यापिड टेस्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको छ ।

कोरोना पोजेटिभ देखिएकी महिला केही साताअघि मात्रै गाउँको समूहमा मिलेर भारतको तीर्थयात्रा गएर फर्कनुभएको थियो । रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा या काठमाडौं पठाउने तयारीमा रहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जानकारी दिनुभयो ।

शंकास्पद महिलासहित उहाँको परिवार र सम्पर्ककमा आएकाहरुलाई क्वारेन्टिनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यसतर्फ गइसकेको उहाँले जानकारी दिनुभयो ।