सेनामाथि शंका नगरौं !



नयाँ वर्ष २०७७ को पहिलो दिन आज सबैले एक–आपसमा सुखद कामना व्यक्त गर्नु आवश्यक छ । यसै पनि मुलुकमा राम्रा कामहरू भइरहेका पनि छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई आक्रान्त बनाउँदा हामी नेपालमा रहेका नेपाली आजसम्म सुरक्षित रहनु पनि कम सुखद विषय होइन । यसका लागि स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधिहरू सबै धन्यवादका पात्र छन् । सरकारलाई पनि समयमै बन्दाबन्दीको घोषणा र यसको व्यवस्थापनका लागि कृतज्ञता छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने औषधी उपकरणको अभाव नहोस् भनेर सरकारले नेपाली सेनालाई खरिद गर्ने जिम्मेवारी दिएको छ । सरकारको निर्णयानुसार नेपाली सेनाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकारका लागि आवश्यक पर्ने औषधी र उपकरण ल्याउने काम अगाडि बढाइसकेको छ । नेपाली सेनाले देशभित्र आइपर्ने विपद्को समयमा महŒवपूर्ण भूमिका खेल्दै आएको छ ।

आफ्नो ज्यानको पर्वाह नै नगरी देश र जनताको रक्षाका लागि अहोरात्र खटि“दै आएको छ । प्राकृतिक प्रकोप बाढीपहिरो होस् वा विनाशकारी भूकम्पमा सेनाको भूमिका प्रशंसनीय छ । इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाले विभिन्न आरोह–अवरोह पार गर्दै आएको दृष्टान्त रहेको छ । नेपाली सेना र तत्कालीन माओवादीका जनमुक्ति सेनाको समायोजनको जटिल काम गरेर आफूलाई अब्बल सावित गरेको नेपाली सेनाले पछिल्लो समयमा उच्च पदस्थ नेतृत्वको सम्पत्ति सार्वजनिक गरेर पारदर्शितालाई सही ढंगले अगाडि बढाउँदै आएको छ ।

सरकारले विश्वास गरेर देशकै महŒवपूर्ण मानिएको काठमाडौं तराई द्रूत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी सुम्पिएको छ । अहिले कोरोना भाइरसको रोकाथाम, नियन्त्रण र प्रतिकारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामाग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस“ग समन्वय गरी खरिद गर्ने निर्णयअनुसार सेनाले आवश्यक प्रक्रिया द्रूत गतिमा अगाडि बढाएको छ ।

सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री र उपकरण खरिद गर्नदिने निर्णयको एक पक्षले विरोध पनि गरेको छ । तर, त्यस विरोधमा सेनामा आएको परिवर्तनलाई मूल्यांकन गर्न नसकेको त्रुटि देखिन्छ । आजको नेपाली सेना शाही नेपाली सेना होइन भनेर सबैले बुझ्नु आवश्यक छ ।

नेपाली सेनाले सरकारले गरेको विश्वासप्रति घात हुने काम गर्नेछैन । अनावश्यक आशंका र अविश्वास गरेर सेनामाथि प्रश्न चिह्न खडा नगरौं । सेनाले गुणस्तरमा कुनै सम्झौता नगर्ने, प्रतिस्पर्धात्मक शैलीद्वारा मूल्य निर्धारण गर्ने सामग्री र यातायातको छुट्टाछुट्टै मूल्य निर्धारण गरिने गरी सामान आपूर्ति गर्ने विषयमा स्पष्ट हुनुपर्छ । सरकारले विश्वास गरेअनुसार समयसीमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गर्ने दायित्व सेनाको काँधमा रहेको छ ।

औषधी उपकरण खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढंगबाट गर्नु जरुरी छ । खरिद गरिने सामग्रीहरूको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारीहरूसहितको गुणस्तर नियन्त्रण समितिको गठन गरेर सेनाले गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएको छ । त्यसैले नेपाली सेनामाथि विश्वास गर्नैपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्