तनहुँमा थालियो र्‍यापिड टेष्ट

0
Shares

मिला दरै, तनहुँ।

विदेशबाट फर्किनु भएका व्यक्तिको र्‍यापिड डायगोनोष्टिक टेष्ट गर्न थालिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणका लागि आरडिटी किट उपलब्ध हुनासाथ परीक्षण थालिएको हो । स्वास्थ्य कार्यालयमा किट उपलब्ध हुनासाथ जिल्लाका १० वटै स्थानीय तहमा पुर्‍याइएको र ल्याब भएका स्थानीय तहले आइतबारैबाट परीक्षण सुरु गरेको कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

‘भानु नगरपालिकाले आइतबारबाटै आरडिटी गर्न सुरु गरेको छ, किट पुगेका र ल्याब भएका अन्य स्थानीय तहले पनि परीक्षण सुरु गर्नेछन्,’ अधिकारीले भन्नुभयो । देवघाट, ऋषिङ र घिरिङ गाउँपालिका टाढा रहेकाले आइतबार साँझसम्म किट पुर्‍याइने बताइएको छ ।

सहज र नजिकका स्थानीय तहरुमा भने पुगिसकेकाले किट मार्फत् परीक्षण थाल्ने तयारीमा रहेको उहाँको भनाई छ ।

‘भारत, कतार, दुबई, जापान, फ्रान्स लगायत अन्य देशबाट जिल्ला प्रवेश गरेका सबै व्यक्तिको आरडीटी किटबाट कोरोना परीक्षण गरिनेछ,’ स्वास्थ्य कार्यालय प्रमुख अधिकारी भन्नुहुन्छ, ‘घरतथा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर १४ दिन पुगेका र २१ दिन ननाघेका व्यक्तिको किटमार्फत् परीक्षण गरिनेछ ।’

ल्याब टेक्निसियन सहितको प्राविधिकको तीन टोलीले विदेशबाट फर्किनु भएका व्यक्तिहरुको परीक्षण गरिरहेको भानु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २२ जनाको आरडिटी लिइसकिएको छ ।

६४२ किट उपलब्ध

जिल्लामा ६४२ र्‍यापिड डाइगोनोष्टिक टेष्ट किट (आरडिटी) उपलब्ध भएको छ । विदेशबाट फर्किएका व्यक्तिको आरडीटी परीक्षणका लागि किट उपलब्ध गराइएको हो । जिल्ला स्वास्थ्य कार्यालयमा ६४२ किट उपलब्ध गराइएको शनिबार साँझमात्र किट आइपुगेको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो ।

सबै स्थानीय तहमाआवश्यकता अनुसार किट पुर्‍याउने काम भइरहेको अधिकारीले बताउनुभयो । ‘केही स्थानीय तह टाढा रहेकाले पुर्‍याउन समय लाग्ने भएपनि पुर्‍याउने कार्य भइरहेको छ, सोमबारसम्म सबै स्थानीय तहमा आरडिटी किट पुर्‍याउनेछौं,’ उहाँले भन्नुभयो ।

दमौलीमा संकलित स्वाबको रिपोर्ट नेगेटिभ

दमौली अस्पतालमै कोभिड १९ को शंकास्पद बिरामीको स्वाब संकलन सुरु गरिएको छ। हालसम्म ३ जनाको जिल्ला अस्पतालमा स्वाब संकलन गरिएको, ४ जना आफैं पोखरा र काठमाडौं गएर परीक्षण गरेका छन्। स्वाब परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो।

जिल्लामा चैत्र १ गते यता ७२० जना विदेशबाट फर्किनुभएको छ । तीमध्ये देवघाट गाउँपालिका स्थित धर्मार्थ अस्पतालले निर्माण गरेको क्वारेन्टाइनमा एक जनामात्रै बस्नुभएको छ भने बाँकी ७१९ जना सुरक्षित तवरबाट होम क्वारेन्टाइनमै रहनुभएको छ ।

जिल्लाको १० वटै स्थानीय तहमा गरी २३ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेका छन् भने ११ वटा थर्मल गन, १७६ बेडको क्वारेन्टाइन, ५ स्थानीय तहमा ४२ बेडको आइसोलेसन, ५६ वटा स्वास्थ्य सहायता कक्षका साथै १८५ थान पीपीईको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो ।