लकडाउन उल्लंघन गर्ने १९६० नियन्त्रणमा


काठमाडौं, (नेस)

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५ सय ४१ महिलासहित १ हजार ९ सय ६० जनालाई नियन्त्रणमा लिइएको छ । शनिबार बिहान ६ बजेदेखि दिउँसो ५ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसै गरी २ सय ६६ वटा दुईपांग्रे र १० वटा चारपांग्रे गरी २ सय ७६ सवारीसाधनलाई पनि नियन्त्रणमा लिइएको छ । काठमाडौंबाट सबैभन्दा बढी १ हजार ७ सय ८६ जनालाई नियन्त्रणमा लिइएको छ । यसै गरी ललितपुरबाट १ सय ६० र भक्तपुरबाट १४ जनालाई नियन्त्रणमा लिइएको छ ।

कोभिड–१९को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँले लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर तपाईं हाम्रो सम्पूर्णको सुरक्षाका लागि गरिएकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई आग्रह गर्नुभयो ।