पशुपक्षीको आहारा व्यवस्थापन गर्दै महानगरपालिका


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र भएका चौपाया, बाँदर तथा पक्षीलाई आहारा व्यवस्थापन गर्ने भएको छ । कामपाले सम्पदा क्षेत्रभित्र रहेका परेवा, बाँदर, साँढे, कुकुरलगायतलाई आहार व्यवस्थापन गर्ने भएको छ । कामपाका मेयर विद्यासुन्दर शाक्यले सम्बन्धित वडा कार्यालयले नियमितरूपमा आहारा दिने व्यवस्था गर्न लागेको बताउनुभयो ।

कोरोना संक्रमणका कारण लकडाउन भएको अवस्थामा मानव आश्रित पशुपक्षी भोकै हुन थालेपछि कामपाले सम्पदा क्षेत्रमा रहेका पशुपक्षीलाई आहारको व्यवस्था गर्न लागेको हो । मेयर शाक्यले पशुपक्षीलाई आहारा दिने स्थानीय निकायको कर्तव्य भएकाले आहाराको व्यवस्थापन गर्न लागेको बताउनुभयो ।

जैविक विविधताको सुन्दर पक्ष जोगाउन मात्र होइन, उनीहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पशुपक्षीको आहार व्यवस्था गर्ने निर्णय भइसकेको जानकारी गराउँदै मेयर शाक्यले यसको सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।

‘नीतिगत प्रबन्धले कार्यान्वयनका चरणका व्यावहारिक समस्या भोगेको छ कि छैन भन्ने विषयमा जानकारी लिन केन्द्रीय टोली अनुगमनका लागि आएको हो।’ –मेयर शाक्यले भन्नुभयो। राहत पाउनेहरूको घर छ कि छैन भन्ने विषयलाई आधार नमानेको स्पष्ट पार्दै उहाँले खानेकुरा छ कि छैन भन्ने विषयमा चासो राखेको जानकारी दिनुभयो ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आफूहरू स्थानीय सरकार भएको अवस्थामा मान्छेदेखि पशुपक्षी कसैको पेट भोको छ कि छैन यो हेर्ने जिम्मेवारी आफूहरूकै भएको बताउनुभयो ।

त्यसैले प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै एकै पटक अनुगमनमा हिँडेका उहाँले बताउनुभयो । उहाँले लकडाउन रहुन्जेल पशुपक्षीको खानपानको व्यवस्था गर्ने स्पष्ट पार्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जुनसुकै योजनामा पनि आफू वरिपरि रहेका जीवजन्तुको जीवन र अस्तित्वलाई पनि समेट्नुपर्छ भन्ने अहिलेको अवस्थाले सिकाएको बताउनुभयो ।

‘हामी जहाँजहाँ पुग्यौं, त्यहाँ भएका कुकुर, बाँदर, परेवा मात्र होइन, कागहरू पनि हामीतिरै आए । यसले मानिस र पशुपक्षीबीचको सम्बन्ध कति नजिक रहेछ भन्ने बुझ्न सकिन्छ ।’ –उपमेयर श्रेष्ठले भन्नुभयो। उहाँले लकडाउन अवधिभर पशुपक्षीको आहारको व्यवस्था गरिने बताउनुभयो ।

महानगरका मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाललगायतको टोलीले सम्पदा क्षेत्रका पक्षी र चौपायालाई आहारा दिएका थिए । लगत्तै मेयरलगायतको टोलीले नियमित आहारको व्यवस्थापन गर्न वडा कार्यालयलाई निर्देशन दिएको थियो ।

टोली स्वयम्भू, पशुपति र बौद्ध क्षेत्र पुगेका थिए । टोली स्वयम्भू पुग्दा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलसहित वडा सदस्यहरू सहभागी भएर स्वयम्भूमा रहेका बाँदर र सामुदायिक कुकुरहरूलाई खानाको व्यवस्थापन गरेका थिए ।

त्यस्तै वडा ८ मा रहेको पशुपति क्षेत्रमा पुग्दा अध्यक्ष दिनेश डंगोल, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. प्रदीप ढकाल, निर्देशक डा. धनश्याम खतिवडालगायत अधिकारीले पशुपति क्षेत्रमा भएका बाँदर र गाईको खानपानका बारेमा अवगत गराउनुभएको थियो ।

त्यसपछि बौद्ध स्तुप क्षेत्रमा रहेका परेवालाई आहार खुवाइएको थियो । त्यस क्रममा वडाध्यक्ष दीपेन्द्र लामालगायतको उपस्थिति रहेको थियो ।
त्यस बेला सम्बन्धित क्षेत्रका वडाध्यक्षले ती क्षेत्रका पक्षी र चौपायालाई विभिन्न निकायको सहयोगमा नियमित आहारको व्यवस्थापन गरिरहेको जनाएका थिए । भेटमा आफूले वडाबाट राहत वितरणका लागि गरेको प्रयास र त्यसका व्यावहारिक कठिनाइका बारेमा जानकारी गराएका थिए ।

कामपाले शुक्रबारसम्ममा करीब ३५ हजार ८ सय व्यक्तिलाई राहत वितरण गरिसकेको छ भने करिब ४२ हजार व्यक्तिको विवरण संकलन गरिसकेको छ ।
त्यसबाहेक पशुपक्षीको तथ्याङ्क संकलन गरेको छैन । सबै सम्पदा क्षेत्रमा केही संघसंस्थाले आहारको व्यवस्थापन गरिरहेका छन् ।

पशुपति क्षेत्रमा बाँदरका लागिभन्दा पनि गाईलाई खुवाउन परालको समस्या भएको कोषका निर्देशक डा. खतिवडाले अवगत गराउनुभयो । महानगरमा भएका चारवटा विश्व सम्पदा क्षेत्रमध्ये स्वयम्भू र पशुपति क्षेत्रमा बाँदरको संख्या धेरै छ भने वसन्तपुर र बौद्ध क्षेत्रमा परेवा धेरै छन् ।