लकडाउन खुला गर्ने कुरा हुन सक्दैन: प्रधानमन्त्री ओली

राजनीतिक संयन्त्र आवश्यक छैन, सीमा नाकालाई थप कडाइ बनाइने


नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तत्काल नहट्ने बताउनुभएको छ ।

उहाँले छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमित बढिरहेका कारण लकडाउन छिट्टै नखुल्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले देशभित्र लकडाउनको अवस्था र प्रदेश सरकारले गरिरहेका कामको बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुभएको छ ।

शनिबार सिंहदरबारस्थित एक्सनरुमबाट सातवटै प्रदेशका मुख्यमन्त्रीसँग चार घण्टा भिडियो कन्फरेन्सबाट लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा परामर्श गर्नुभएको छ । उक्त अवसरमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका कामहरूको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

भिडियो कन्फरेन्समा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले लकडाउनलाई अझै लम्ब्याउनुपर्ने आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले तीनै तहको सरकारबीच समन्वय गरेर काम अगाडि बढेको बताउँदै अझ समन्वयात्मक ढंगले अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट पार्दै सरकार प्रभावकारी र सफलरूपमा यस काममा केन्द्रित रहेकाले अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन आग्रह गर्नुभएको छ ।

उहाँले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताउनुभयो । मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘लकडाउन छिट्टै अन्त्य हुׅदैन, सीमामा अझ कडाइ गरिन्छ, भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैन, संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य छ ।’

भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न पनि प्रधानमन्त्री ओलीले सबैलाई सचेत गराउनुभयो । उहाँले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रस्ट पार्नुहुँदै सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले स्वयंसेवकहरूलाई स्वयंसेवी भावनाले कार्य गर्न, शारीरिकरूपमा तन्दुरुस्त हुन र त्यसबापत कुनै लाभ नखोज्न पनि आग्रह गर्नुभयो । लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिनेसमेत उहाँले बताउनुभयो ।

जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताका लागि आह्वान गर्दै उहाँले सरसफाइमा ध्यान दिन, माक्स, चस्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि अपिल गर्नुभयो ।