विपद् व्यवस्थापन र स्वायत्तता जोगाउने नयाँ गभर्नरका चुनौती


परिवर्तन देवकोटा, काठमाडौं ।

भूकम्पपछिको अवस्थामा समेत राष्ट्र बैंकको नेतृत्व तहमा कार्यरत महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएपछि कोरोनाको विपद्पछि राष्ट्रिय अर्थतन्त्रमा पर्ने असर र त्यसका निम्ति चाल्नुपर्ने कदमका बारेमा विज्ञ व्यक्ति पाइएको सरोकारवालाहरूले बताएका छन् ।

विगतमा भूकम्पपछि उत्पन्न विपद्लाई व्यवस्थापन गर्न अग्रमोर्चामा खटिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कोरोना संकटले निम्ताएको आर्थिक एवं वित्तीय चुनौतीलाई नयाँ गभर्नरले सम्हाल्नुपर्ने स्थिति रहेको बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै डा. वाग्लेले भन्नुभयो– ‘कोरोना कारण नेपालको अर्थतन्त्रमा पर्ने असरलाई न्यूनीकरण गर्न राष्ट्र बैंकको भूमिका उल्लेख्य हुन्छ । त्यसका लागि नवनियुक्त गभर्नरले आफ्नो कुशलता प्रस्तुत गर्नुपर्छ । उहाँको पहिलो कदम नै कोरोनाले पारेको असर न्यूनीकरणतर्फ हुनुपर्छ ।’

बैंकिङ प्रणालीभित्र थाँती रहेका सुधारका कार्यक्रममा विस्तारै गभर्नरले कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । आर्थिक वृद्धि, उत्पादन वृद्धि, रोजगारी सिर्जनालगायत विषयमा केन्द्रित रहेर काम गर्नुपर्नेमा डा. वाग्लेले जोड दिनुभयो ।

नवनियुक्त गभर्नरका लागि कार्य सम्पादनमा चुनौती देखिए पनि अनुकूलता पनि सँगसँगै रहेको उल्लेख गर्दै डा. वाग्लेले भन्नुभयो–‘अहिले स्थिर सरकार छ, राजनीतिक स्थायित्व, अन्तर्राष्ट्रियस्तरमा पनि राम्रो सम्बन्ध भएको तथा कुशल कार्यसम्पादनको खुबी भएकाले पनि कार्यसम्पादनका क्रममा चुनौतीको सामना गर्न सहज छ ।’

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले गभर्नर अधिकारी अनुभवी भएका कारण कार्यसम्पादनमा जटिलता नदेखिए पनि केही सावधानी भने अपनाउनुपर्ने सुझाव दिनुभयो ।

कोरोना भाइरसका कारण निम्तिएको मन्दीको समयमा वित्तीय स्थायित्व कायम राख्नका लागि गभर्नरको भूमिका उल्लेखनीय हुने बताउँदै उहाँले सबैभन्दा पहिला वित्तीय स्थायित्व कायम राख्नेतर्फ कार्यसम्पादन गर्न सुझाव दिनुभयो । वित्तीय क्षेत्रमा संकट देखिएमा निकै नै गम्भीर असर पर्ने भन्दै उहाँले अहिलेको आवश्यकता भनेको यसलाई स्थिर राख्नु रहेको बताउनुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘वित्तीय क्षेत्र संकटमा पर्नु भनेको सबै थोक संकटमा पर्नु हो, त्यसकारण गभर्नरले धेरै नै विचार पु¥याउनुपर्ने देखिन्छ ।’

त्यस्तै नेपाल राष्ट्र बैंकका अर्का पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कोरोनाका कारण बैंकिङ क्षेत्रमा विशेष गरी कर्जा तथा सम्पत्तिमा परेको र पर्न सक्ने असरलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको बताउनुभयो ।

राष्ट्र बैंकले अहिले अल्पकालीन नीतिगत व्यवस्था गरिसकेको छ । यसबाट पर्ने असरलाई दीर्घकालीनरूपमा व्यवस्थापन गर्न राष्ट्र बैंक वा गभर्नरले असरको मूल्यांकन गर्नुपर्ने तथा कुन क्षेत्रमा कति असर परेको छ, त्यसको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो– ‘पछिल्लो समय कर्जाको गुणस्तर खस्कँदै गएको छ, यसलाई सुधार गर्नुपर्नेतर्फ पनि गभर्नरले ध्यान दिनु आवश्यक हुन्छ ।’

यस्तै व्यवसायीलाई कसरी बचाउने भन्ने कुरा चुनौतीको विषय भएको भन्दै उहाँले गभर्नर अधिकारीले यस्ता विषयमा कुशलतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । सन् १९३० को मन्दीमा अमेरिकाका राष्ट्रपति रुजबेल्टले जसरी आफ्नो अर्थतन्त्र उकास्न समाजवादी प्रकृतिका प्याकेज तथा कार्यक्रमहरू ल्याएका थिए त्यसरी नै दीर्घकालमा यहाँ पनि त्यस्ता कार्यक्रमहरू लागू गर्नुपर्नेमा नवनियुक्त गभर्नर अधिकारीले ध्यान केन्द्रित गर्नुपर्ने निरौलाले सुझाव दिनुभयो ।