देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन, आगामी दुई साता अझै चुनौतीपूर्ण


नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि लकडाउनको विकल्प नभएको बताउँदै आगामी दुई साता अझ बढी चुनौतीपूर्ण हुने अनुमान गर्नुभएको छ ।

‘महामारीविरुद्ध लकडाउन अपरिहार्य कदम हो, यसकै कारण महामारीलाई फैलिन नदिने प्रयासमा ठूलो सहयोग पुगेको छ।’ –प्रधानमन्त्री ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधी पत्ता नलागेकाले स्थितिलाई भयावह बन्न नदिन थप आठ दिन लकडाउनको अवधि बढाउनुपरेको बताउनुभयो ।

महामारीका बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नुनपरोस् भनेर सरकारले स्थानीय तहहरूको संयोजनमा राहत वितरण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले महामारीविरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ भएको बताउनुभयो ।

‘कोरानाविरुद्धको लडाइँमा सबै नेपाली जनताको साथ र सहयोग आवश्यक छ।’ –प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले नागरिकलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिन नदिन सरकार एकजुट भएर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै त्यसमा सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो पुस्ताले भोगेको सर्वाधिक गम्भीर चुनौतीमध्येको यस महामारीविरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछु ।’

देशभित्र कोरोना संक्रमणको पहिलो केस पहिचान भएदेखि यता संक्रमितको संख्या ९ जनामा मात्र सीमित गर्न सकिए तापनि हामी अझै पनि उच्च जोखिममा रहेको बताउँदै दुई सातादेखि मुलुक लकडाउनमा रहँदा पर्न गएको असुविधाप्रति सरकार संवेदनशील रहेको बताउनुभयो ।

‘सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रिम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरूले देखाउनुभएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ’, उहाँले भन्नुभयो– ‘हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरू दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनुभएको छ, यसको सरकार उच्च कदर गर्दछ ।’

‘सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट परीक्षण शुरू गरिएको छ । हिजोसम्म १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा द्रूत परीक्षण (¥यापिड डिटेक्सन टेस्ट–आरडीटी) विधिमार्फत् हजारौंको नमुना परीक्षणको तयारी अगाडि बढाइएको छ।’ –उहाँले भन्नुभयो ।

यसबीच हजारौंको संख्यामा नेपालीहरू घर फर्किएको र तीमध्ये कतिपयले क्वारेन्टिनमा बस्न गरिएको आग्रह र प्रबन्धलाई ध्यान नदिएकाले चिन्ता थपिएकाले बताउँदै उहाँहरूलाई स्वघोषणा गरेर जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा जान आग्रह गर्नुभयो ।

‘तपाईंहरूको लापरबाही स्वयं तपाईंको परिवार र सिङ्गो समुदायका लागि निकै महँगो पर्न सक्छ।’ –प्रधानमन्त्री ओलीले सतर्क गराउनुभएको छ ।
नेपालमा लकडाउन शुरू भएपछि नेपाल–भारत सीमानजिक आउनुभएका नेपालीहरूले भोग्नुपरेको अप्ठ्यारो र उहाँहरूको भावनालाई सरकारले बुझे पनि संक्रमणको जोखिमलाई न्यून गर्न अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो ।

भारत सरकारसँग समन्वय गरी सीमाको पारिपट्टि रहनुभएका २ हजार १ सय ४७ नेपालीलाई उतै क्वारेन्टिनमा राखिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सीमाको वारिपट्टि रहेका करिब ७ सय भारतीय नागरिकहरूलाई सरकारले क्वारेन्टिनमा राखेको बताउनुभयो ।

नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरूसँग आफैले टेलिफोन संवाद शुरू गरेको बताउँदै भन्नुभयो– ‘संकटको वर्तमान घडीमा जो जहाँ छौं, त्यहीं सुरक्षित रहौं, संकटको कालो बादल अवश्य हटेर जानेछन् ।’

‘आउने २ साता सायद हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ।’ –उहाँले भन्नुभयो ।