कोराना रोकथामसँगै बजेटका विषयमा छलफल सुरु

0
Shares

रोशन पराजुली,हेटौंडा। 

बागमती प्रदेश सरकारको कोरोना रोकथामको कामसँगै आगामी बजेका विषयमा छलफल सुरु गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकमा बजेट बनाउने विषयमा प्रारम्भिक छलफल भएको हो ।

कोराना रोकथाम, नियन्त्रण र उपचारसँगै आगामी बजेटको तयारी गर्न मन्त्रालयका मन्त्री एवम् सचिवहरुलाई मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ । छलफल कार्यक्रममा बजेटलाई परम्परागत भन्दा पृथक्ढंगले प्रस्तुत गर्नुपर्नेमा सहभागीले सहमति जनाउनुभएको छ ।

जति संकट भए पनि आन्तरिकरुपमा आगामी बजेटका विषयमा छलफल गर्न केही समस्या नहुने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो–अहिलेको समयमा कार्यालय बन्द गर्ने होइन, भित्र बसेर काम गर्ने हो, जिम्मेवारीहरु धेरै छन्, काम गरौं, काममा जुटौं ।

गएका वर्षहरुमा बनाइएका बजेटको समिक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत् बजेटका शृंखला तोड्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–कुरा मात्र नयाँ हैन, अब काम पनि नयाँ गरेर देखाउनुपर्छ, सबै कुरामा परिवर्तन ल्याउन सरकारले हरसम्भव प्रयास गर्नुपर्छ, नयाँ विचार नयाँ योजनासाथ काम गर्नुपर्छ ।

बजेटलाई कामकाजीमात्र हैन, कसरी प्रभावकारी बनाउने, कुन मोडेलको बजेटले प्रदेश सम्बृद्ध हुन्छ, त्यो छुट्याएर काम गर्न सकियो भने सम्बृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन सहयोग पुग्ने उहाँको धारणा थियो ।

जनताले अनुभूत गर्ने गरी समाजवादउन्मुख बजेट सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो । हरेक मन्त्रालयले आफ्नो काम हुने गरी महत्वपूर्ण कुराहरु समाबेश गरेर योजना बनाउन उहाँले आग्रह गनुभयो ।

उहाँले भन्नुभयो–हामीले जनतालाई जे गर्छौं भनेको थियौ,ं त्यहीअनुसार बजेटमा ध्यान दिऔं, पार्टीको घोषणा पत्रअनुसार, आवधिक योजनाअनुसार, गत वर्षको बजेट कार्यान्वयन भयो कि भएन, नभए किन भएन भन्ने विषयलाई पनि अध्ययन गरौं ।

आर्थिक वृद्धि र रोजगारीको आधार देशमा सिर्जना गर्नुपर्ने भन्दै यस्ता कुरामा ध्यान दिन पनि उहाँको आग्रह थियो । देशमा रोजगारी सिर्जना गर्ने अबस्था, शिक्षा, स्वास्थ्य तथा खानेपानी योजना प्राथमिकता हेरेर योजना बनाउन पनि उहाँको सुझाव थियो । उहाँले भन्नुभयो–साना योजनामा पैसा छरेर परिवर्तन हुन सक्दैन ।

अनि जनताले पनि अनुभूत गर्न सक्दैनन्, त्यसैले ‘गेम चेन्जर’ योजना छनोट गरौं, लगानी उत्पादनसँग जोडौं, आधारभुत आवश्यकतालाई जोड दिने गरी बनाऔं । कृषि क्षेत्रको विकासलाई महत्व दिएर योजना बनाउने, कृषिमा आत्मनिर्भरका योजना अगाडि सार्न पनि उहाँको आग्रह गर्नुभयो ।

विद्यालय, स्वास्थ्य संस्था, उद्योग र कृषि क्षेत्रमा सम्पन्न भए अन्य विकास हुँदै जाने उहाँको भनाइ थियो । कृषि, शिक्षालगायत क्षेत्रका अनुदानलाई कटौती गरेर बिना ब्याजमा ऋण दिने गरी बजेट ल्याइने उहाँले बताउनुभयो । बजेट बनाउनुभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै सबै मन्त्रालयले दुवैको तयारी थाल्नुपर्ने उहाँले बताउनुभयो ।

बिगतमा भन्दा फरक अनुभूति हुने गरी बजट ल्याउन छलफल गराउन सुरु गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो । हाल मुलुक कोरोना भाइरसका कारण लकडाउन भए पनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले जानकारी दिनुभयो ।