नेकपाभित्र नेतृत्व विवाद: सचिवालय बैठक नबोलाउने मुडमा ओली

तत्काल सचिवालय बैठक बोलाउनु पर्छः खनाल


मधुसूदन रायमाझी, काठमाडौं ।

 

कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारको कामलाई थप प्रभावकारी बनाउन नेताहरुले सचिवालय बैठक बोलाउनुपर्ने माग गरेका छन् भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नबोलाउने मुडमा हुनुहुन्छ ।

 

सचिवालयका सदस्यहरुले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

 

कोरोनाभाइरसको उपचार, रोकथाम र नियन्त्रणका लागि सरकारले औषधीउपकरण सामाग्री खरिद प्रक्रिया विवादित बनेपछि नेकपाको चौथर्फी आलोचना हुँदै आएको छ ।

 

तर नेकपाका शीर्ष नेताहरुको फरक–फरक धारणा बाहिर आएको छ । औषधीउपकरण खरिद प्रक्रियामा अनियमितता भएको विषयप्रति जनस्तरबाट विरोध हुँदासमेत पार्टी नेतृत्वले सचिवालय बैठक समेत बोलाएको छैन ।

 

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अल्पमतमा रहनुभएको छ । सरकारको कामको आलोचना भएसँगै सचिवालय बैठक बोलाउँदा पार्टीभित्रको पनि आलोचना सामना गर्नुपर्ने भएकाले अध्यक्ष ओलीले सचिवालय बैठक नबोलाउने रणनीति लिएको बताइएको छ ।

 

अध्यक्षद्वय ओली र प्रचण्डबीच अनौपचारिक विषयमा छलफल भएपनि सचिवालय बैठक बोलाउने विषयमा टुंगो नलागेको प्रचण्डको सचिवालयले बताएको छ ।

 

सचिवालयका एक सदस्यकाअनुसार प्रचण्डले बारम्बार सचिवालयको बैठक बोलाउनु पर्ने आग्रह गरेपनि कार्य व्यस्तता भन्दै प्रधानमन्त्रीले बैठक टार्दै आउनुभएको छ । विवादित संस्था ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई औषधी खरिद गर्न दिने निर्णय विवादमा परेपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

 

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले खेल्नु पर्ने भूमिकाको विषयमा तत्काल सचिवालय बैठक बोलाउनु पर्ने बताउनुभयो । उहाँले नेपाल समाचारपसँग भन्नुभयो,‘सरकारले गर्नुपर्ने कामको बारेमा बैठक बस्न जरुरी छ, हामीले माग गरिरहेका छौ, खै खबर आएको छैन ।’

 

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामेदव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सचिवालय बैठक बोलाउनु पर्ने विषयमा नेतृत्वको ध्नाकर्षण गराइसकेको बताइएको छ ।

 

नेताहरुले प्रचण्डसँग तत्काल सचिवालयको बैठक बोलाउनु पर्ने विषयमा अध्यक्ष ओलीसँग कुरा गर्न आग्रह गरेको एक सचिवालय सदस्यले बताए । उनले भने,‘महत्वपूर्ण घडीमा पनि बैठक नबस्ने भन्ने कुरा हुँदैन, प्रधानमन्त्री चार-पाँच घण्टा मन्त्रीपरिषद्को बैठकमा समय दिन सक्नुहुन्छ, पार्टीको बैठक बोलाउने समय निकाल्न गाह्रो मानिरहनुभएको छ ।’

 

कोरोनाविरुद्धको औषधिउपकरण खरिदमा अनियमिताको विषय उठेपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षलाई टेलिफोन गरेर बैठक बोलाउन आग्रह गर्नुभएको थियो । प्रवक्ता श्रेष्ठले भन्नुभयो,‘सचिवालय बैठक बोलाउन तीनदिन अघि नै मैले आग्रह गरेको हुँ तर खै नेतृत्वले बैठक बोलाइरहेको छैन, अध्यक्षद्वयले हुन्छ भनेपनि बैठक बस्न सकिरहेको छैन् ।’

 

कोरोनाविरुद्ध सरकार र पार्टीले अहिले चालेका कदमको विश्लेषण र आगामी दिनमा चाल्नुपर्ने कदमतथा रणनीतिका बारेमा छलफल गर्न सचिवालयका सदस्यहरुले सचिवालयको बैठक बस्नु पर्ने माग गरेकाहुन् । नेकपाको सचिवाल बैठक पछिल्लो पटक गत चैत्र ५ गते बसेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडले सरकारले तत्काल स्वास्थ्यउपकरण र सुरक्षित स्वास्थ्यपोशाकको व्यवस्थागर्ने काममा ढिला गर्न नहुने बताउनुभयो ।

 

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘सरकारले देशभर कोरोनाभाइरसको आशंका गरिएका व्यक्तिहरुलाई तीब्र गतिमा नमूना परीक्षण गर्नुपर्छ, स्वास्थ्यकर्मीलाई अत्यावश्यकीय पिपिइलगायतको सुरक्षित पोशाक उपलब्ध गराएर मनोबल उच्च बनाउनुपर्छ ।’

 

उहाँले स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीलाई समेत सुरक्षित पोशाक उपलब्ध गराउनु पर्ने बताउदै देशभित्र मात्र नभई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि सबै एकताबद्ध भएर लाग्नु पर्छ ।’ प्रमुख प्रतिपक्षदलको तर्फबाट आफूहरुले सरकारलाई सुझाव दिइरहेको बताउदै गलत काम भएको विषयमा संसद खुलेपछि आवाज उठाउने बताउनुभयो ।