बिहीबारदेखि हेटौँडामा कोरोना भाइरस परीक्षण हुने

0
Shares

न्युज अफ नेपाल, हेटौंडा।

तत्कालीन समयमा मलेरिया रोगको अनुसन्धान गर्न दक्षिण एसियामा पहिलोपटक हेटौंडा–१० मा स्थापित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र (भीबीडीआरटीसी) को प्रयोगशालालाई व्यबस्थित बनाएर बिहीबारदेखि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिने भएको छ ।

प्रदेशको राजधानी हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाट कोभिड–१९ को परीक्षण गर्ने कार्यको अन्तिम तयारीमा रहेको भन्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुबेदीले बताउनुभयो ।

ल्याबका आवश्यक सबै सामग्री र जनशक्ति हेटौंडा आइपुगेकोले ल्याबमा मेसिन जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले २० गते विहान १० बजेदेखि नियमितरुपमा परीक्षण सुरु हुने बताउनुभयो ।

छमेकी प्रदेश नम्बर–२ का विभिन्न जिल्लालाई समेत पायक पर्ने गरी हेटौंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको हो । सरकारले प्रयोगशालाका लागि विज्ञका रुपमा विष्णु उपाध्याय र निर्मल आचार्यलाई खटाएको बताइएको छ ।

पर्याप्तरुपमा परीक्षण गर्न थप पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन थप गरिने भएको छ । त्रासका बीच ब्याक्टेरिया, प्यारासाइटहरुका प्रजाति अध्ययन गर्न, भाइरसको स्वरुप परिवर्तनबारे बुझ्न हेटौंडामा स्थापित आधुनिक पोलिमर चेन रियाक्सन ल्याबलाई अब पूर्णक्षमतामा प्रयोगमा ल्याउन लागिएको हो ।

उपकरण, केमिकल र जनशक्ति व्यबस्थापन हुन नसक्दा ल्याब पूर्ण प्रयोगमा ल्याउन सकिएको थिएन । आवश्यक उपकरण हेटौंडामा भएर पनि कोरोना भाइरसको आशंका भए परीक्षणका लागि नमूना काठमाडौं नै पठाउनुपर्ने बाध्यता छ । संघीय सरकारमातहत रहेको ल्याबमा जनशक्ति अभाव हुँदा नियमित सञ्चालन हुनसकेको छैन ।

कोरोना भाइरस परीक्षणका लागि सुरक्षा उपकरण, केमिकल र जनशक्ति व्यबस्थापन हुन नसक्दा ल्याब प्रयोगमा ल्याउन नसकिएको हो । २०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको ल्याबमा हाल ल्याब टेक्निसियन निरीक्षक र ल्याब असिस्टेन्ट गरी दुई जना प्राविधिक कर्मचारी कार्यरत् छन् । ३ जना माइक्रोबायोलोजिष्टको दरबन्दी थप गर्ने हो भने कोरोना भाइरस अध्ययन र परीक्षण हेटौंडाको यही ल्याबबाट हुनसक्छ ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले हेटौंडाबाट कोरोना भाइरसको परीक्षण हुने बताउनुभयो । उहाँले स्वाब संकलन गरेर त्यही परीक्षण गर्ने र संक्रमित पाइए हेटौंडामै उपचार व्यबस्था गरिएको बताउनुभयो ।

संक्रमितलाई राख्न प्रदेश सरकारले सघन उपचार कक्षसहित तीन सयभन्दा बढी आइसोलेसन कक्ष निर्माण गरेको छ । रोकथाम, परीक्षण र उपचारका समानान्तररुपमा सरकार तयारी हालतमा रहेको उहाँले बताउनुभयो ।

रसुवामा १० बेड, नुवाकोटमा १० बेड, खरानीटारमा स्थानीय तहबाट ४ बेड, धादिङमा ५ बेड, गजुरीमा दुई बेड, चितवनमा ७० बेडको कोरोना अस्पताल, चितवनकै गुंजनगरमा बीस बेड, भरतपुर अस्पतालमा बीस बेड, हेटौंडा अस्पतालको पहिलो प्लानमा बीस बेड र अर्को चरणमा ७० बेडको तयारी हुँदा सिन्धुलीमा ५ बेड तयार छ भने अर्को ५ बेड तयार हुँदै गरेको मन्त्री दुलालले बताउनुभयो ।

रामेछापमा निजी क्षेत्रको समेत गरी बीस बेड, दोलखाको जिरीमा दुई बेड तयार छ र दुई बेडको तयारी भइरहेको छ । सिन्धुपाल्चोकमा १७, भक्तपुरमा एक्काइस बेड र धुलिखेलमा बीस बेडको आइसोलेसन तयार गर्न भनिएको मन्त्री दुलालले बताउनुभयो ।

प्रदेशअन्तर्गत अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्त खरिद गरी स्वास्थ्य निर्देशनालयमार्फत पहिल्यै पठाइसकिएको तथा प्रदेशस्तरीय र्‍यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन, विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको बताइएको छ ।

मन्त्री दुलालले सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहित चिकित्सक तथा स्वास्थ्यकर्मी व्यबस्था गरिएको बताउनुभयो । एक हजार सात सय १४ जना स्वास्थ्यकर्मी तयारी अबस्थामा छन् । खटिने स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।

प्रदेशका जिल्लामा कार्यरत कन्सल्टेन्ट फिजिसियन ७१, मेडिकल अफिसर दुई सय ५१, एनेस्थेसियोलोजिस्ट ३१, नर्सिङ सुपरभाइजर ३४, स्टाफनर्स सात सय १३, नर्स एसिस्टेन्ट चार सय ५७, प्रयोगशालाकर्मी एक सय ५७ जना तयारी अबस्था रहेको मन्त्रालयको दाबी छ ।
केही स्थानीय तहमा नेताहरुकै आफन्त विदेशबाट फर्किएर बिनापरीक्षण लुकेर बसेको जानकारी आएको भन्दै मन्त्री दुलालले विदेशबाट आएर रोग लुकाएर नबस्न अनुरोध गर्नुभएको छ ।

अधिकांश समय बन्द हुने ल्याबलाई नियमित सञ्चालन गर्ने हो भने बागमती प्रदेशको राजधानी हेटौंडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइट अध्ययन गरी उपचार सहज बनाउन सकिने चिकित्सकहरु बताउँछन् ।

हेटौंडा उपमहानगरपालिका स्वास्थ्य तथा वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उक्त ल्याबको स्तरोन्नति गरी कोरोनाको परीक्षण हेटौंडामै सम्भव बनाउन लागिएका बताउनुभयो । उहाँले उक्त मेसिन प्रदेश सरकारको प्रतिष्ठाको विषय बन्ने र हेटौंडामा प्रादेशिक ल्याबसमेत स्थापित हुने भन्दै ध्यानाकर्षण गराउनुभयो । ‘हाल किनिने मेसिन भन्दा उक्त मेसिन निकै महंगो हो,’ उहाँले भन्नुभयो ।

केन्द्रका भेक्टर कन्ट्रोल निरीक्षक कुमार पोखरेलका अनुसार उक्त मेसिन चालु हालतमा छ । मलेरिया र डेंगुको परीक्षण भइरहे पनि आवश्यक रिएजेन्ट, प्राविधिक र प्राइमर नभएका कारण कोरोना परीक्षण गर्न नसकिने भन्दै उहाँले बीएसएल–३ लेभलको भौतिक पूर्वाधारको खाँचो औंल्याउनुभयो । जबकि, हेटौंडामा बीएसएल–२ लेभलको पूर्वाधार छ ।

ल्याब सञ्चालन भए मानव शरीरमा न्यून घनत्वमा रहने भाइरस परीक्षण र संक्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तन अध्ययन गरी रोग पहिचान गरेर यहीं उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

नेपालमा पनि कोरोना संक्रमण फैलिनसक्ने अबस्थालाई मध्यनजर गर्दै सरकारले मुलुक ‘लकडाउन’ गरिसकेको अबस्था छ । छिमेकी मुलुक भारतमा कोरोना फैलिएपछि नेपाल–भारतको प्रमुख नाका बीरगञ्ज र चीनको नाकाबाट नजिक रहेको बागमती प्रदेश कोरोनाबाट कति असुरक्षित छ भन्ने सन्दर्भमा प्रदेश सरकारले ध्यान दिइरहेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल बताउनुहुन्छ ।

छिमेकी भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमित भारतीयहरु यहाँ प्रवेश गर्दा असुरक्षित हुन्छ भन्नु स्वभाविक भएको उहाँको भनाइ छ । बीरगञ्ज नाकामा कडाइसाथ भारतीयको स्वास्थ्य परीक्षण गरिएको मन्त्री जम्कट्टेलले बताउनुभयो ।