क्वारेन्टाइनका लागि सहयोग जुट्दै

94
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

कोभिड १९ को संक्रमण आशंका गरिएका वा संक्रमण भएका व्यक्तिहरुको सम्पर्कमा पुगेका ब्यक्तिहरुका लागि तयार गरिएको क्वारेन्टाइनका लागि आवश्यक पर्ने सामाग्रीको सहयोग जुट्दै गएको छ । स्थानीय तहहरुको समन्वयमा नेपाली सेनाले विभिन्न क्षेत्रमा निर्माण गरेको क्वारेन्टाईनमा विभिन्न क्षेत्रबाट खाद्यान्न लगायतका सामाग्रीहरु जुट्ने क्रम शुरु भएको हो ।

काभ्रे उद्योग बाणिज्य संघ, धुलिखेल उद्योग बाणिज्य संघ, लियो क्लव अफ काभ्रे, काभ्रे रियल स्टेट लगायतका संघ संस्थाहरुले क्वारेन्टाइनका लागि खाद्यान्न लगायतका सामाग्रीहरु उपलब्ध गराएका हुन् । काभ्रे उद्योग बाणिज्य संघले क्वारेन्टाईनका लागि आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराएको छ । उद्योग बाणिज्य संघको टोलीले धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायतलाई हस्तान्तरण गरेको थियो । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर र महासचिव कैलाश पलाञ्चोके लगायतको टोलीले धुलिखेलको क्वारेन्टाईनमा सहयोग गरेको हो । अन्य क्वारेन्टाईनमा पनि आवश्यक सहयोग उपलब्ध गराउने अध्यक्ष प्रकाश मानन्धरले जानकारी दिनु भयो ।

बनेपामा सुनिल सापकोटाले एभरफ्रेस बेकरी मार्फत बेकरी उपलब्ध गराउनु भएको छ भने लियो काभ्रे बनेपाले सहयोग उपलब्ध गराएको छ । काभ्रे रियलस्टेटले जिल्ला विपद् ब्यवस्थापन समितिलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामा र प्रबन्ध निर्देशक शोभा लामाले काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाई मार्फत खाद्यसामग्री हस्तान्तरण गर्नु भएको थियो । १७ बोरा चामल, १ बोरा नुन, २ बाक्सा तेल, १ बोरा आलु र २ बोरा मस्यौरा धुलिखेल स्थित नेपाली सेनाका विष्णु दल गणका कर्णेल सुवास खड्काको उपस्थितिमा हस्तान्तरण भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईलाई प्राप्त सामाग्री क्वारेन्टाईनमा बसेकाहरुलाई वितरण गर्ने बताउनुभयो ।

काभ्रे रियल स्टेटका अध्यक्ष सन्देश लामाले सिंगो मुलुक संकटमा परेको वेला आफ्नो तर्फबाट केही गरौं भन्ने उद्धेश्यले उक्त सहयोग गरेको बताउनुभयो । घर जग्गा कारोबार गर्ने रियलस्टेटले बनेपाको सिनागालमा बसिरहेका सुकुम्बासीहरलाई खाद्यान्न सामग्री १३ बोरा चामल लगायत नुन, तेल र तरकारी वितरण गरेको छ । उक्त समुहमा रहेका दूई जना सुत्केरीलाई नगद पाँच हजार र एक हजार पाँच सय नगद समेत प्रदान गरेको थियो । त्यस्तै बनेपाको चारदोबाटोमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई ईलाका प्रहरी कार्यालय बनेपाको रोहबरमा चाउचाउ र पानीको उपलब्ध गराईएको अध्यक्ष सन्देश लामाले बताउनु भयो ।

सरकारी कोषमा बनेपाको ५ लाख

कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सरकारले स्थापना गरेको विपद कोषमा बनेपा नगरपालिकाले ५ लाख उपलब्ध गराउने भएको छ । नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा नगरपालिकामा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रमुख बादेले बताउनु भयो ।

सरकारले स्थापना गरेको कोषमा नगरपालिकाले ५ लाख उपलब्ध गराउने निर्णय सँगै बनेपा नगरपालिकाको विपद ब्यवस्थापन कोषमा थप १५ लाख रुपैया विनियोजन गरिएको नगर प्रमुख बादेले बताउनु भयो । त्यसै गरी नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागी गरेका कामहरुलाई थप प्रभावकारी बनाउँदै बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको रेडक्रस तालिम केन्द्रमा बनाईएको ६५ वटा क्वारेन्टाईन बेडलाई आवश्यकता अनुसार थप गर्दे लैजाने नगर प्रमुख लक्ष्मी नरसिं बादेले वताउनु भयो । नगरबासीहरुलाई नगर र नेपाल सरकारले गरेका निर्णयहरु पालन गर्न समेत बादेले अनुरोध गर्नु भयो ।

बनेपा नगरपालिकाले बनेपाको पोलिटेक्निकल विद्यालयमा पनि क्वारेन्टाईन निर्माणको तयारी गरेको छ । उक्त क्वारेन्टाईनका लागि आवश्यक पर्ने खाद्यान्न लगायतका सामाग्रीको ब्यवस्थापन हुँदैछ ।