कोरोना उपचार कोषमा मन्त्री र सांसदको सहयोग

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारले स्थापना गरेको प्रदेश कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सहयोग गर्न नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले पाउने सेवासुबिधाको १५ दिनको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको नेकपा संसदीय दलका मुख्य सचेतक केशबराज पाण्डेले जानकारी दिनुभयो ।

नेकपाले कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले लकडाउन गरेकोले सोको पालना गर्न आमजनसमुदायलाई आग्रहसमेत गरेको छ । विश्वसमुदाय समक्ष चुनौतीका रुपमा रहेको कोरोना भाइरसलाई परास्त गर्न सरकारले गरेको आव्हान्लाई कार्यान्वयन गर्नुको बिकल्प नभएको मुख्य सचेतक पाण्डेले बताउनुभयो । सरकारले गरेको निर्णय पालनामा सहयोग गर्न प्रदेशसभा सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयो । बागमती प्रदेशसभामा नेकपाका ८० सदस्य छन् ।

यसअघि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित मन्त्रीहरुले एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको थियो भने प्रमुख प्रतिपक्षी दलले ७ दिनको तलब जम्मा गर्ने जनाएको छ ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कोरोनाविरुद्ध अभियानका लागि ५ लाख रुपियाँ सहयोगको घोषणा गर्नुभएको छ । प्रेस विज्ञप्ति जारी गर्दै उहाँले पश्चिम मकवानपुरका ३ गाउँपालिकालाई ५ लाख सहयोग गर्ने जनाउनुभएको हो ।

मकवानपुर क्षेत्र नम्बर २ (ख) का सांसद् बानियाँले राक्सिराङ गाउँपालिकाको विपद् व्यबस्थापन कोषमा २ लाख रुपियाँ जम्मा गर्ने जनाउनुभएको छ । मनहरी गाउँपालिकालाई १ लाख र कैलाश गाउँपालिकालाई २ लाख सहयोग गरिनेछ । उक्त रकम गाउँपालिकाको विपद् व्यबस्थापन कोषमा जम्मा गरिने जनाइएको छ ।

उहाँले महामारी रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाहरुको अभियानमा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले प्रदेशभर अतिन्यून आय भएका विपन्न वर्ग, लोपोन्मुख बनकरिया, दैनिक श्रम गरिखाने असंगठित श्रमिक र जनजाति समुदायलाई लकडाउनको समयमा हुनसक्ने खाद्यान्नलगायत अत्यावश्यक सामग्री उपलब्धताका लागि संघीय र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले आफू जनताको समस्या समाधानका लागि संघीय, प्रदेश, स्थानीय तह र नागरिक समाजसँग हातोमालो गर्न प्रतिवद्ध रहेको अवगत गराउँदै कोरोना संक्रमणविरुद्ध अभियानमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षा निकाय, नागरिक समाज, पत्रकारलगायत सम्पूर्णलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै अभियानमा जुट्न आग्रह गर्र्नुभएको छ ।

राक्सिराङ गाउँपालिका कार्यालयले स्थानीयको आर्थिक अबस्था मध्यनजर गर्दै कोरोना भाइरस संक्रमणको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा र थप परीक्षणका लागि नेपाल सरकारले तोकेको अस्पतालमा जानुपरे प्रतिबिरामी ५ हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ भने विपद् व्यबस्थापन कोषमा २५ लाख जम्मा गरेको छ ।

मकवानपुर क्षेत्र नम्बर २ का सांसद् विरोध खतिवडाले आफ्नो निर्वाचन क्षेत्रका दैनिक ज्यालादारी गर्ने परिवारलाई खाद्यान्न उपलब्ध गराउनुहुने भएको छ । उहाँले कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लकडाउन गरिरहेको समयमा दैनिक मजदुरी गर्ने परिवार भोकभोकै बस्नुपर्ने भएकाले निर्वाचन क्षेत्रका मजदुर परिवारलाई चामल, दाल र नुनको व्यबस्था गर्न लाग्नुभएको हो ।

नेकपा केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद् खतिवडाले व्यक्तिगत खर्चमा खाद्यान्न बितरण गर्न लाग्नुभएको हो । मकवानपुरको मनहरी गाउँपालिका, राक्सिराङ, कैलाश, थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाकाका विपन्न परिवार दैनिक ज्यालादारी गरेर हातमुख जोर्नुपर्ने बाध्यता भोग्दै आएका छन् ।

सांसद् खतिवडाले सम्बन्धित नगरपालिका र गाउँपालिका अध्यक्षको समन्वयमा सम्बन्धित वडा अध्यक्षको सिफारिसमा मजदुरका लागि उनीहरुको परिवार संख्याका आधारमा चामल, दाल र नुन बितरण गर्न लागिएको बताउनुभयो ।

कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछि सबभन्दा बढी मारमा दैनिक ज्यालादारी गर्ने मजदुर परिवार परेका छन् । उनीहरुको परिवारमा खानाको समस्या परेको छ । तर, प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्ने काम एक व्यक्तिले व्यक्तिगत खर्चमा गर्नु जटिल विषय हो ।

आममजदुर परिवारलाई आफ्नो नजिकको पसलबाट उपलब्ध गराउने गरी सामान बितरण गर्न लागिएको बताउँदै सांसद् खतिवडाले भन्नुभयो–जुन मजदुर परिवारलाई कुन पसल पायक पर्छ, त्यही पसलबाट खाद्यान्न बितरण गर्न लागिएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि स्थानीय सरकारले गरिरहेको पहलमा बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले सहयोग घोषणा गर्नुभएको छ । विज्ञप्ति प्रकाशन गरी उहाँले चेपाङ जातिको बाक्लो बसोबास क्षेत्र रहेको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको विपद् व्यबस्थापन कोषमा रकम जम्मा गर्ने घोषणा गर्नुभएको हो ।

तीनवटै गाउँपालिकाको कोषमा २० हजार रुपियाँका दरले रकम जम्मा गरिने प्रतिवद्धता उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आफूले पाउँदै आएको पारिश्रमिकमध्ये डेढ महिनाको रकम कोरोना भाइरसको संक्रमण रोक्न खर्च गर्ने प्रदेशसभा सदस्य चेपाङले जानकारी दिनुभयो ।

‘तीनैवटा गाउँपालिकाले स्थापना गरेको विपद् व्यबस्थापन कोषमा जतिसक्दो चाँडो रकम जम्मा गर्नेछु’, सांसद् चेपाङले भन्नुभयो । उहाँले रोग र भोकसँग लडिरहेको समुदायलाई सहयोग गर्न विज्ञप्तिमार्फत् सरोकारवालालाई आग्रह गर्नुभएको छ । चेपाङ नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद् बन्ने प्रदेशहरुका सांसद्मध्ये एक्लो चेपाङ सांसद् हुनुहुन्छ ।