कोरोनाको आशंकमा आइसोलेशनमा राखिएका युवक डिस्चार्ज

0
Shares

विमल विष्ट, डोटी ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिका ७ रातुलीका १९ वर्षीय तिलक भण्डारीलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

छिमेकी मुलुक भारतको तेलंगना राज्यमा कामगर्दै आएका निज युवक भण्डारी केही हप्ता पहिले आफनो जन्मथलो डोटी आउनु भएको थियो । तेलंगनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बिरामी फेलापरेपछि उहाँलाइ पनि रुघाखोकी र ज्वरोको लक्षण भेटीएपछि कोरोना भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोटीको सहयोगमा गएको मङ्गलबार जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

आइसोलेसन वार्डमा भर्ना गरिए संगै उहाँको घाटी र नाँकको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल डोटीले बुधबार टेकु अस्पताल काठमाण्डौँमा पठाएको थियो । स्वाब परिक्षण पछि टेकु अस्पतालले कोरोना संक्रमण नभएको पुष्टि गरेपछि उहाँलाइ आज डिस्चार्ज गरिएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.ज्योती पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भएको आशंकामा हामीले निजको घाटी र नाँकको स्वाब परीक्षणका लागि काठमाण्डौँ स्थीत टेकु अस्पताल पठाएका थियौँ, रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेका छौँ ।” उता कैलालीको धनगढी स्थित सुदूरपश्चिम सेती प्रादेशिक अस्पतलमा उपचार गराइरहेका एकजना ३५ वर्षीय युवकमा भने कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

कोरोना संक्रमितको पुष्टी भएका निज व्यक्ति यहि चैत महिनाको ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएको खुलेको छ । उहाँ युएईको दुबईबाट भारतको राजधानी नयाँ दिल्ली हुँदै काठमाडौँ पुग्नु भएको थियो । २१ मार्च अर्थात यहि चैत ८ गते काठमाडौँबाट बुद्ध एयरको विमानबाट नेपालगञ्ज आउनुभइ नेपालगञ्जबाट सार्वजनिक गाडीमा धनगढी पुगेको थाहा भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । उहाँ चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना हुनु भएको थियो । उहाँलाइ सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएपछि उहाँको थ्रोट स्वाबको नमूना परीक्षणका लागि काठमाण्डौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो । प्रयोगसालामा उहाँको स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालले पुष्टि गरेको छ ।