क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनका लागि मापदण्ड तयार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको संचालन र व्यवस्थापनका लागि मापदण्ड तयार पारेको छ । सरकारले‘ कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड – २०७६’ तयार पारी शुक्रबार सार्वजनिक गरेको हो ।

मापदण्ड मार्फत उचित सुरक्षा र खानपानलाई प्राथमिकतामा राखेको छ । उक्त मापदण्ड अनुसारको क्वारेन्टाइनमा दिनमा ४ पटक खानाखान पाइन्छ । जस अनुसार बिहान साढे ७ बजे चिया, दिउँसो साढे ११ बजे दिवा खाना, अपराह्न साढे २ बजे खाजा र साँझ साँढे ७ बजे रात्रि खानाको व्यवस्था गरिएको छ ।

सरकारले तोकेको मापदण्ड अनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिले अरुलाई हिनताबोध गर्ने खालको कुनै पनि काम गर्न नपाउने, क्यारेन्टाइनमा सूर्तिजन्य एवं मादक पदार्थको सेवनगर्न नपाउने, क्वारेन्टाइनबाट कोही पनि व्यक्ति भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिने जस्ता विषयहरु उल्लेख गरिएको छ ।

त्यस्तै क्वारेन्टाइनबाट कोही व्यक्ति भाग्न लागेको देखेमा सो बारेमा जानकारी दिनु समेत त्यहाँ रहेका व्यक्तिको जिम्मेवारी हुने भनिएको छ ।

मापदण्डमा त्यहाँ रहेका शंकास्पद व्यक्ति र त्यसको व्यवस्थापनमा रहेका कर्मचारीहरुले गर्न हुने र नहुने कामको बारेमा उल्लेख गरिएको छ । शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म राख्ने बताइएको छ ।

क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा प्रति व्यक्ति ७५ वर्ग्फिटको स्थानवा एउटा खाटदेखि अर्को खाटसम्मको न्युनतम दूरी ३.५ फिट हुनुपर्ने तोकिएको छ ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई खोक्दा या हाछ्युँ गर्दा अनिवार्य रुपमा मुख छोप्नुपर्ने, मासु एवं अण्डा राम्रोसँग पाकेको यकीन गरेर मात्रै खानुपर्ने कुनै पनि पंक्षीहरुको सम्पर्कमा जान नहुने नियम तोकिएको छ ।

क्वारेन्टाइनमा खटिएका व्यक्तिहरुलाई समेत भित्र क्वारेन्टाइनमा बसेका व्यक्तिसँग अनावश्यक भेट्न प्रतिबन्ध लगाइएको छ । प्रभावकारी ढंगबाट आर्थिक अनुशासनको पालना गर्दै मितव्ययी तरिकाले काम गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।