कोरोना परीक्षणका लागि प्रतिबिरामी ५ हजार सहयोग उपलब्ध गराउने

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको अतिबिकट मनिने राक्सिराङ गाउँपालिकाले स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिए त्यसको परीक्षणका लागि प्रतिबिरामी ५ हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको विपद् व्यबस्थापन कोषको रकमबाट कोरोना परीक्षणको लागि आर्थिक सहयोगका साथै निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउने निर्णय गरिएको हो । कोरोना संक्रमण हुन नदिन गाउँपालिका छिर्ने मनहरी खोलाको नाकामा कडाइ गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

‘हाम्रो गाउँपालिकामा निकै विकट र यहाँको आर्थिक विपन्नताको अबस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कोरोनाको लक्षण देखिए पनि आर्थिक अभावका कारण रोग लुकाएर बस्नुपर्ने अबस्था नआओस् भन्नाका लागि तत्काल आर्थिक सहयोग गर्ने घोषणा गरेका हौं,’ अध्यक्ष मल्लले भन्नुभयो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा सोको रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाको विपद् व्यबस्थापन कोषको खातामा पच्चीस लाख रुपियाँ व्यबस्थापन गरिसकेको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । गाउँपालिकाको एक्लो प्रयासबाट मात्र उक्त रोगको रोकथाम तथा नियन्त्रण असम्भव हुने भन्दै विपन्न चेपाङ समुदायको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले गाउँपालिकाको विपद् व्यबस्थापन कोषमा रकम सहयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

गाउँपालिकाले मनहरी खोला नाकामा तत्काल हेल्थडेस्क स्थापना गर्ने र गाउँपालिका प्रवेशमा कडाइ गर्ने, सबै स्वास्थ्य संस्थाहरुमा हेल्थडेस्क स्थापना गर्ने, स्वास्थ्यकर्मीलाई २४ सै घण्टा सेवाप्रवाहमा परिचालन गर्ने, आवश्यक स्वास्थ्य सामग्री तत्काल खरिद गर्ने, स्वास्थ्यकर्मीलाई उपचारमा आवश्यक पर्ने ड्रेस खरिद गर्ने, गाउँपालिका क्षेत्र भित्र क्वारेन्टाइन र आइसोलेसनका लागि उपयुक्त स्थान छनौट गरी आबश्यक व्यबस्था मिलाउने तथा १५ दिनसम्म सार्वजनिकस्थलमा उपस्थित हुन रोक लगाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।