नगरकोटलाई आवश्यकता अनुसार विशेष क्वारेन्टाइन स्थल बनाउने सरकारको तयारी

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

सरकारले पर्यटकीय केन्द्र नगरकोटलाई आवश्यकता अनुसार बिशेष क्वारेन्टाइन स्थल बनाउने भएको छ । यसकै लागि पर्यटनमन्त्री योगेश भट्टराई आज बिहान नगरकोट पुग्नुभएको छ । पर्यटनमन्त्री योगेश भट्टराई सहितको टोलीले विहान नगरकोटका होटल व्यवसायीसँग छलफल गरेको छ ।

तयारीका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा त्यहाँका सुरक्षा अङ्गका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, नगरकोटका पर्यटन व्यवसायी सदस्य रहेको समिति बनाईएको र त्यसले अध्ययन गरेर होटलका कोठा छान्ने छ ।समितिलाई क्वारेन्टाइनस्थल बनाउन लाग्ने स्रोत साधनबारे जानकारी गराउन भनिएको छ ।

कोभिड–१९ (कोरोना भाइरस)को संक्रमित फेला पर्दैजाँदा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने भएको कारण नगरकोटलाई तयारी अबस्थामा राखिएको हो ।होटल चालु हालतमा रहे पनि हाल आगन्तुक छैनन् ।

नगरकोटमा सञ्चालन रहेका होटलहरू मध्येबाट पाँच सय कोठा क्वारेन्टाइन बनाउन निर्देशन दिइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।नगरकोटमा सञ्चालनमा रहेका होटलहरूमा दुई हजार कोठा रहेका छन् । त्यसमध्ये पाँच सयलाई तत्काल क्वारेन्टाइन बनाउन निर्देशन दिइएको छ ।

मन्त्री भट्टराईसँग छलफलपछि क्वारेन्टाइन व्यवस्थाको लागि तयारी गर्ने चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले बताउनुभयो ।उहाँले नगरकोटका ११ होटलमा १ हजार जना अट्ने क्वारेन्टाइन व्यवस्थाको लागि तयारी गरिएको जानकारी दिनुभयो । ती होटललाई तत्काल क्वारेन्टाइन बनाइने छ । अहिले पाँच सयको तयारी भएको छ । आवश्यकताअनुसार थप्दै जाने सरकारको तयारी छ ।

यदि कोरोना भाइरसको संक्रमण कुनै वस्तीमा देखियो भने संक्रमण नदेखिएका मानिसलाई क्वारेन्टाइनमा राख्नुर्पयो भने नगरकोट उपयुक्त हुनसक्ने सरकारको बुझाइ छ ।छलफलमा व्यवसायीले पनि क्वारेन्टाइनस्थल बनाउन आवश्यक परे सहयोग गर्ने तर आन्तरिक छलफल पछि मात्र निर्णय दिने नगरकोट नाल्दुम पर्यटन बिकास समितिका उपाध्यक्ष धनबहादुर लामाले बताउनुभयो ।

सरकारले क्वारेन्टाइनस्थल तयार पार्न मन्त्री भट्टराईको नेतृत्वमा समिति बनाएको छ । यो समितिले काठमाडौंमा ५ हजार मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ । यसका लागि सुरुमा होटल तथा सरकारी भवन उपयोग गरिनेछ ।
यस्तै मन्त्री भट्टराई नेतृत्वको टोलीले आजै दुवाकोटस्थित केएमसी हस्पिटलको पनि अनुगमन गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको मेडिकल कलेजमा ३२ वटा आइसोलेसन तयार पारिएको छ ।

त्यहाँ दुई सय वटा आइसोलेसन वेड बनाउन सकिने देखिएको छ । तर पर्सनल प्रोटेक्टिभ इक्वीपमेट (पीपीई) लगायतका सुरक्षा उपकरणहरु चाहिने अस्पतालले बताएको छ ।

मन्त्री भट्टराईले मेडिकल कलेज पुगेर आइसोलेसन र क्वारेन्टाइन बढाउन चाँगु नारायण नगरपालिकाका मेयर मिश्र र भक्तपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई निर्देशन दिनुभएको छ ।