कोरोना कहर र हाम्रो दायित्व

- डा. लाक्पा शेर्पा 

188
Shares

सुरुमा चीनको वुहानमा देखा परेको कोरोनाभाइरसले निकै महामारीको रुप लिएपछि त्यहाँबाट बिस्तारै अन्य मुलुकहरुमा फैलिन पुगेको यो भाइरसले यूरोपको बिशेष गरी इटालीलाई आक्रान्त पारेको अवस्था छ । यसले अमेरिकालाई पनि नराम्ररी प्रभाव पारिरहेको स्थिति देखिन्छ । आज विश्वनै यसबाट आतंकित र भयभित भइरहेको अवस्था छ ।

हुनत सुरुमा रुघाखोकी जस्तै देखिएपनि उच्च ज्वरो आउने र सुक्खा खोकीलाग्ने जस्ता लक्षण देखा पर्दछ भन्ने चिकित्सकहरुले बताउने गरेका छन् । यो रोग वास्तवमा आफैं नलागी संक्रमित व्यक्तिको सम्पर्कबाट मात्र सर्न सक्ने खतरा रहेको हुँदा यसबाट बच्ने उपाय भनेको संक्रमितव् यक्तिको नजिक नजानु हो । यति हुँदाहुँदै पनि आजसम्मको तथ्यांकमा करिवन तीन लाख जति मानिसहरु संक्रमित र १६ हजारको मृत्यु भएको भनी सञ्चार माध्यमहरुमा आइरहेको छ ।

यस रोग लाग्ना साथ रोगको पहिचानभई आइसोलेसनमा बसी सफासुग्घर,खानपान र आराम गर्ने हो भने रोग निको हुने कुरा समेत चिकित्सकहरुले बताइरहेका छन् ।

यद्यपी त्यस्ता संक्रमित व्यक्तिहरु रोग प्रतिरोधात्मक क्षमता कम भएका र अन्य रोगबाट ग्रसित भइ औषधी सेवन गरिरहेका मानिसहरुको नजिक सम्पर्कमा पुगे भने त्यस्ता मानिसहरु पनि संक्रमितहुने संभावना बढी हुन्छ भन्ने भनाई छ । यस रोग लागेका मानिसहरु मध्ये १०० मा २ प्रतिशत जति मात्र मृत्युको मुखमा पुग्ने बताइएको छ । यद्यपी इटलीमा झन्डै ६४ हजारमा ६ हजार जतिको मृत्यु भइसकेको तथ्यांक बाहिर आएको छ । अमेरिकामा ४६ हजारमा ५ सय जतिको मृत्यु भएको सञ्चार माध्यमहरुले पुष्टि गर्दै आएको छ ।

चीनले निकै जटिल मोडबाट यस रोगलाई नियन्त्रणमा ल्याउन सफल भइरहेको देखिन्छ । यो सफलताको पछाडि त्यहाका जनताहरुले पालना गरेको सरकारको आदेश नै हो । चिनिया जनताले संकटलाई संवेदनशील ढंगबाट बुझी अठोट र प्रतिवद्ध भई सरकारको कदमलाई आफ्नो ठाउँबाट निर्वाह गरेको भुमिका समेत हो ।

युरोपमा यो रोग नियन्त्रणमा आउन ढिलाई भएको कारणहरु मध्ये पनि पहिलो कारण भनेको संक्रमित व्यक्तिबाट धेरै जनामा रोग सर्नु हो । सरकारले सुचना जारी गरे पनि त्यसलाई मनै देखि पालना गरेर संक्रमित व्यक्तिहरुबाट टाढा रहन सकेको भए अवश्यपनि यस्तो भयावह हुन सक्दैन थियो होला । चीनले कठीनाइ पूर्वक यो रोगलाई नियन्त्रणमा ल्याउन सफल हुदै गइरहेको अहिलेको ताजा अवस्था वास्तवमा सबैका लागि एउटा राम्रो उदाहरण हुन सक्दछ ।

नेपालमा आजसम्म यस रोगबाट तीन जना संक्रमित भइसकेका छन् । त्यस मध्ये एक जना निको भएर घर गइसकेको छ । अर्का एक जनाको भने भर्खरै पहिचान भएको छ । यसरी हेर्दा के देखिन्छ भने संक्रमित मुलुकहरुबाट आएका व्यक्तिहरुमा यो रोग पाइएको हुनाले सबैभन्दा बडी जोखिम संक्रमित व्यक्तिहरुको सम्पर्क बाट रोग सर्न सक्ने स्थिति नै हो जसलाई नजर अन्दाजगर्न सकिन्न ।
वास्तवमा सरकारले पहिलेदेखि नै सावधानीका उपायहरु अपनाइरहेकै थिए । सावधानीका उपायहरु नपनाएको भए स्थिति बिकराल पनि हुन सक्थ्यो होला । यद्यपी तयारीका कामहरु भने अवश्यपनि पर्याप्त नहुन सक्दछ । तर सामाजिक सञ्जालमा अनावश्यक भ्रामक समाचारहरु त्यतिकै फैलाउने हरुको कमी छैनन् ।

विश्वका कतिपय मुलुकहरुले आफ्ना जनतालाई संकटको घडीमा बिभिन्न सुविधा र सहायताको घोषणा गरेको सुनिएको छ । सरकारले सिङ्गो मुलकुको जनतालाई एक भई उठने र जुटने आव्हान गरेका छन् । त्यसैगरी उद्योगी व्यापारीहरुले पनि आफुसँग भएको साधन र स्रोतहरु समेत आम नागरिकहरुको स्वास्थ्यका खातिर प्रयोग गर्ने प्रतिवद्धता समेत प्रकट गरेका छन् ।

हाम्रो मुलुकमा भने यसको संवेदनशीलतालाई नबुझेर केही व्यापारीहरुले सामानको कृतिम अभाव खडागर्ने देखि भाउ बढाउने सम्मको हर्कतहरु गर्दा हामीलाई नेपाली हुनुका नाताले लज्जा बोध हुने गर्दछ । विश्वका कुनैपनि मुलुकमा यस्तो संकटको बेला निहित स्वार्थले खाना पकाउने ग्यांस लुकाउने गरेको वा अभाव खडा गरेको समाचार सुन्नमा आएको छैन ।

जे होस आजसम्मको अवस्थालाई मनन गर्ने हो भने हामीलाई एउटा अवसर मिलेको छ । त्यो अवसर भनेको अनुशासित ढंगले सरकारले चालेको कदमलाई पालनागर्नु, आफू संक्रमित हुनुबाट जोगिनु र अरुलाई पनि संक्रमण हुनबाट जोगाउनु हो । यसबेला सामाजिक संजालहरुमा नचाहिदा समाचार नफैलाउन र मानिसहरुलाई दिग्भ्रमित नगर्नु पनि हो ।

यसै सन्दर्भमा सरकारले भीडभाड नगर्न र अन्य देशबाट आउने मानिसलाई समेत सुरक्षित साथ दुई हप्ता घर बाहिर ननिस्कन र त्यहिबेला रोगको आसङ्का भए अस्पताल गई जचाउन भने पनि मानिसहरुले त्यसो नगरी खुलेआम हिडडुल गरेपछि अहिले लकडाउन भएको अवस्था हो । यद्यपी अझै पनि मानिसहरुले यसलाई गम्भीरतापूर्वक नलिएको भनी सर्वत्र चासो प्रकट भइरहेको छ । त्यति मात्र नभई सीमानाकाहरुमा समेत मानिसहरुको भीडभाड हुने गरेको देखिनाले यसबाट अझ मानिसमा त्रास थपिएको देखिन्छ ।

एक जना कोरोनाबाट संक्रमित व्यक्तिले मृत्युको अन्तिम सास फेर्दै गर्दा आफन्तको नभै अस्पतालमा नर्सको हात समाएर मृत्यु वरण गर्दै गरेको समाचार पढ्दै गर्दा त्यसले साह्रै पीडा बोध भयो । समयमै यसरी ध्यान पु¥याउन नसक्दाको परिणामबाट भोग्नु पर्ने दर्दनाक अवस्था आउननदिन सबैमा चेतनाहुनु जरुरी छ । (ब्रेकर)

यसका लागि सीमा नाकाहरुमा समेत अस्थायी क्वारेनटाइनको व्यवस्था हुन जरुरी छ । त्यसैगरी व्यवस्थित तवरबाट चेक जांच हुन आवश्यक देखिन्छ । यसैगरी अस्पतालहरुमा आवश्यक सामग्रीहरुको पर्याप्त व्यवस्था भएको खण्डमा चिकित्सकहरुले राम्ररी उपचार गर्न सक्ने बिचारहरु व्यक्त भएका छन् । यस बेला सबै आपूर्तिको व्यवस्थापन राम्ररी हुनसक्यो भने मानिसमा चिन्ता कम हुन सक्दछ ।
अन्तमा हामी सबै मिलेर धैर्य र अनुशासितभई कोरोना बिरुद्धको लडाँइमा सफलता प्राप्तगर्ने दिशातर्फ उन्मुख हुन कतिपनि ढीला र वेवास्ता नगरी उठौं, जागौं र आफ्नो आनीबानी सुधारौँ ।