कोरोना उपचार कोषमा बागमती सरकारको १० करोड

94
Shares

न्युज अफ नेपाल, हेटौंडा।

बागमती प्रदेश सरकारले कोरोना भाइरस उपचारकोष स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपत्कालीन कोष स्थापना गरेको हो ।

विश्वभर नै महामारीको रुपमा फैलिएको रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषका स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो । उक्त कोषमा रकम जम्मा गर्न सरकारले सर्वसाधारणलाई समेत आह्वान गरेको छ । बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नुभयो ।

देशका सात वटै प्रदेश प्रमुखले कोरोना भाइरसका बिरामीको लागि उपचार गर्न सहयोग गर्ने हुनुभएको छ । कोरोना भाइरस लागेका बिरामीको उपचारका लागि एक महिनाको तलब उपलब्ध गराउन लागिएको बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले बताउनुभयो ।
सातै प्रदेश प्रमुखले एक महिनाको तलब उपलब्ध गराउने भएका हुन् । कोरोना भाइरसको उपचार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गर्न लागिएको प्रदेश प्रमुख प्रसाईंले जानकारी दिनुभयो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखापरे थप समस्या हुने भन्दै आफूहरुले सहयोग गर्न लागेको बताउँदै प्रदेश प्रमुख प्रसाईंले भन्नुभयो–नागरिकलाई उपचार गर्न समस्या भइरहेको समयमा आफूहरुको पनि दायित्व भएकोले एक महिनाको पारिश्रमिक रकम सहयोग गर्न लागेका हौं ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा २५ लाख बराबरको कोरोना आपत्कालीन कोष स्थापना गरिएको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको स्थानीय तह समन्वय बैठकले जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो । स्थानीय तहको आफ्नै आपत्कालीन कोष भए पनि स्थानीय तहहरुले जिल्लामा समेत कोषको आवश्यक्ता महसुस गरेको र स्थानीय तहसँगको सल्लाहबमोजिम कोष स्थापना गरिएको हो ।

कोषमा जिल्ला समन्वय समितिले २ लाख र मकवानपुरका १० वटै स्थानीय तहले दुई लाखका दरले तथा प्रदेश सरकारको समेत सहयोग रहने गरी तत्काल २५ लाखको आपत्कालीन कोष स्थापना गर्ने निर्णय भएको जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

कोषको रकम कोरोना रोकथामका निम्ति लड्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्वास्थ्य उपकरणका साथै क्वारेन्टाइन र आइसोलेसन निर्माणलगायत अत्यावश्यक सामग्री र स्वास्थ्य व्यबस्थाको प्रवन्ध मिलाउन खर्च गरिने उहाँले बताउनुभयो ।
तत्कालका लागि २५ लाखको कोष स्थापना गरिने तथा स्थानीय तहहरुले आवश्यकताअनुसार रकम थप गर्ने सहमति भएको उहाँले बताउनुभयो । कोरोना आपत्कालीन कोषमा इच्छा हुने व्यक्ति एवम् संस्थाले सहयोग गर्नसक्ने प्रमुख खुलालले बताउनुभयो ।