कोरोना विशेष अस्पतालमा मृत्यु भएका यादव मृगौला बिरामी : अस्पताल

0
Shares

न्युज अफ नेपाल, चितवन ।

भरतपुरको कोरोना विशेष अस्पतालमा मृत्यु भएका ३० वर्षे सन्तोष यादवलाई पहिलेदेखि नै लुपस रोग रहेको अस्पतालले जनाएको छ ।

लुपसका कारण मृगौला कमजोर हुनुका साथै ज्वरो र निमोनिया भएपछि यादव अस्पताल भर्ना भएको बताइएको छ । यादवलाई चैत ९ गते दिउँसो चितवन मेडिकल कलेजले रिफर गरी सो अस्पतालमा पठाएको थियो । उनलाई राती १० बजे भर्ना गरिएको र १० गते दिउँसोदेखि नै स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले बताए । सघन उपचार कक्षमा भर्ना भएका उनलाई आज बिहान साढे ९ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ ।

हिँजो १० गते नै स्वाव (नमूना कलेक्सन) परिक्षणका लागि काठमाडौं पठाइएकोले उनको शव रिपोर्ट नआउँदासम्मका लागि आइसोलेसनमा राखिने अस्पतालले जनाएको छ ।