३ करोड ठगी गरि सपरिवार फरार

0
Shares

यमलाल भुसाल, बुटवल । 

रुपन्देहीको सैनामैनाका एक व्यवसायी करिव तीन करोड रुपैयां ठगेर परिवार सहित फरार भएका छन् ।

सैनामैना नगरपालिका–४ मुर्गियाका ५० वर्षिय उत्तमबहादुर श्रेष्ठले रुपन्देही र पाल्लपाका गरि ८० जना व्यक्तिबाट विभिन्न बहानामा लिएको दुई करोड ९५ लाख रुपैयां ७० हजार रुपैयां नतिरी भागेका हुन् ।

घर र पसल बेचेर परिवारसहित भागेपछि श्रेष्ठलाई रकम दिनेहरु ठगिएको गुनासो गर्दै न्यायका लागि धाउन थालेका छन् । श्रेष्ठका मुर्गिया बजारमा दुईवटा पक्की घर,फेन्सी र फलफूल पसल थिए । त्यसैलाई देखेर रकम उठ्ने विश्वासमा उनीहरुले श्रेष्ठलाई रकम दिएका थिए । श्रेष्ठले विभिन्न व्यक्तिबाट ५० हजारदेखि २५ लाख रुपैयांसम्म रकम लिएको स्थानिय पीडित गोपाल शर्माले बताउनु भयो । लेनदेनका केही कागज सैनामैना नगरपालिका वडा नंं. ४ को वडा कार्यालयले नै गरिदिएको छ ।

उत्तमबहादुरले कसैसंग छोरालाई जापान पठाउन, कसैसंग पसलमा सामान थप्न, कसैसंग घडेरी किन्न,कसैसंग छोरीको डिभोर्स हुन लागेकाले समस्या परेको भने कसैसंग बुटवलमा स्टार होटल किन्न भन्दै बहाना बनाएर रकम मागेका थिए ।

उनले व्यवसायी,सरकारी जागिरेदेखि अपांगता भएकी सिधासाधा गृहिणी,बृद्धबृद्धासम्मका व्यक्तिबाट रकम उठाएका छन् । चैत ५ गते उत्तमबहादुरको घरलाई देवीप्रसाद श्रेष्ठ र मिनप्रसाद श्रेष्ठले आफूहरुले किनेको दावी गरेपछि र फेन्सी पसल पनि अर्कैले सञ्चालन गरेको देखेपछि सोधीखोजी गर्दा उत्तमबहादुर चारजनाको परिवारसहित अघिल्लो दिन नै भागेको थाहा भएको हो । सबै सम्पत्ति बेचेर परिवारसहित सम्पर्कविहीन भएपछि पीडितहरुले उत्तमबहादुरलाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएका छन् ।

पीडितहरु जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय बुटवल र प्रदेश प्रहरी कार्यालयमा निवेदन दिने तयारीमा रहेको पीडित मध्येका गोपाल शर्माले बताउनु भयो । तमसुक, बाउन्स चेक र अन्य कागजपत्र सहित पीडितहरुले उत्तमबहादुरले विक्रि गरेको घर अगाडि प्रदर्शन गर्दै प्रहरी प्रशासनले निजलाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले ऐलानी जग्गाको घर विक्रि गर्दा वडा अध्यक्ष र सैनामैना नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले मिलेमतो वा गल्ती गरेको आशंका गर्दै छानवीन गर्न समेत माग गरेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले उत्तमबहादुर श्रेष्ठलाई खोजी गरिदिन निवेदन आएको तर लेनदेनको विषय भएकाले आफूले प्रकृयागतरुपमा केही गर्न नमिलेपनि व्यवहारिक हिसाबले खोजी गरिरहेको बताउनु भयो ।

ठगी गरेको आरोप लागेका उत्तमबहादुरको नम्बर ९८१६४६८८९४,९८४६९२६७६१ रहेको पनि पीडितले बताएका छन । कलकते भनेर चिनिने उत्तमबहादुरका बुवा को मृत्यु भईसको छ । पुरानो पाल्पा जिल्लाको परभाष घर भएका उत्तमबहादुर कहाँ छन कसैलाई थाहा छैन ।