भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट भागे

0
Shares

न्युज अफ नेपाल, नेपालगञ्ज ।

सोमबार बिहान जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका नेपाली क्वारेन्टाइनबाट फरार भएका छन् ।

बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले जमुनाह नाकामा अलपत्र परेका ५ सय ४० जनालाई उद्धार गरी नेपाल ल्याएको थियो । नेपाल ल्याइएका उनीहरुलाई नाका नजिकैको महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको थियो । क्याम्पसका विभिन्न कक्षा कोठामा राखिएका उनीहरु त्रसित देखिन्थे । ठाउँको अभावमा एक कोठामा लगभग ३० देखि ३५ जनालाई राखिएको थियो ।

एउटै कोठामा खाँदीएका उनीहरु एक अर्कामा रोग सर्न सक्ने डरले त्रसित बनेका थिए । चाँडो भन्दा चाँडो घर जान पाउनुपर्ने माग राख्दै हल्ला गरिरहेका उनीहरुलाई प्रहरीले शान्त राख्ने प्रयास गरिरहेको थियो । तर, थोरै संख्यामा रहेको प्रहरीले मानिसको त्यो भीडलाई धेरै बेरसम्म भने थेग्न सकेन ।

क्याम्पस हाताभित्र रहेका उनीहरु पर्खाल नाघेर भाग्न समेत पछि परेनन् । कोही खेततिर भागे त कोही सवारी चढेर एकातिर लागे । क्वारेन्टाइन स्थलमा रहेका प्रहरीका अनुसार केही मानिसहरु क्वारेन्टाइनबाट भाग्न सफल भएका छन् ।

क्वारेन्टाइन व्यवस्थापन समितिले भने आफूहरुले थप व्यवस्था गर्दा गर्दै उनीहरु भागेको बताएका छन् ।