सामुदायिक विद्यालयको भवनमा क्वारेन्टाईन

0
Shares

राम धामी, डडेल्धुरा ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाँउपालिका–१ स्थित सरस्वती माध्यामिक विद्यालय भात्काँडाले विद्यालय भवनमा क्वारेन्टाईन सेवा उपलब्ध गराउन सक्नेगरि विद्यालय भवन व्यवस्थित बनाएको छ ।

भारतीय सिमा नाकाबाट दिनहुँ हजारौं सर्वसधारणहरु स्वदेश फर्किन थालेसँगै ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेकाले संक्रमणको आशंका भएका नागरिकलाई क्यारेन्टाईनमा राख्न सामुदायीक भवनको अभावलाई मध्यनजरगर्दै विद्यालय भवन व्यवस्थित बनाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष देउवाले बताए ।

बस्तीदेखि केहि टाढा रहेको विद्यालय भवनमा खानेपानी र शौचालय सुविधा हुनुका साथै काठ दाउरा र अन्य आवश्यक सामाग्रीसमेत व्यवस्थापन गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले दुई जना कार्यालय सहयोगीलाई २४ ओटै घण्टा डिउटीमा खटाउने तथा क्वारेन्टाईनका लागि आवश्यक सेवा उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष देउवाले जानकारी दिए । उनले विद्यालयको अगुवाईमा समुदायस्तरमा जनचेतनामुलक कृयाकलाप समेत सञ्चालन भईरहेको बताए ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका बिभिन्न भारतीय सिमा नाकाबाट दैनिक हजारौं सर्वसधारणहरु स्वदेश फर्किरहेका छन । सरकारले बन्द गरिएका सिमा नाकाबाट समेत ट्युवको साहराले महाकाली नदी तरेर स्वदेश फर्किने क्रम बढ्दो छ । महाकाली नदीमा तरेर चोरीछिपी स्वदेश फर्किने नागरिकका कारण स्थानीयमा कोरोना भाईरस संक्रमणको सन्त्रास बढेको छ ।