कोरोनाविरुद्ध स्याङ्जाका पालिकामा अनुगमन र सचेतना

0
Shares

अमृत अर्याल, स्याङजा ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण स्याङ्जामा पनि सन्त्रास फैलिएको छ ।

कोरोना भाइरसबाट बच्न र यो भाइरसको सन्त्रास फैलिएका बेला हुन सक्ने कालोबजारीका लागि स्थानीय तह, प्रशासन, पत्रकार, प्रहरी र स्वास्थ्य शाखाले सचेतना सहित अनुगमन समेत थालनी गरेका छन् । जसले स्याङ्जामा कोरोना भाइरस नफैलोयोस भन्ने उच्च सतर्कताको संकेत देखिन थालेको छ ।

११ वटा स्थानीय तह रहेको स्याङ्जा पर्यटकीय शहर पोखरा र प्रदेश नम्वर ५ को विचमा पर्दछ । सुनौली नाकाबाट नजिक रहेकाले स्याङ्जा कारोना भाइरसको जोखिममा पर्न सक्ने आंकालन गरी यहाँका ११ पालिका, जिल्ला समान्वय समिति, जिल्ला प्रशासन कार्यालयले आ—आफ्नै तवरबाट सकारात्मक भुमिका खेल्दै आएका छन् । हरेक पालिकामा हेल्थ डेक्स स्थापना देखि लिएर कोरोना भाइरसबाट हुन सक्ने संक्रमणका लागि उच्च सर्तकता अपनाउने काम गरेको बताइएको छ । जिल्लाको मध्यभागमा रहेको वालिङ नगरपालिका जिल्लाकै व्यापारीक केन्द्रका रुपमा परिचित छ ।

पर्वत, गुल्मी, तनहुँ लगायतका जिल्लाबाट आउन सहज हुने वालिङमा मान्छेको चाप बढ्दो रहेको छ । यसलाई मध्यनजर गर्दै वालिङ नगरपालिकाले इलाका प्रशासन, वडा प्रहरी, स्थानीय संचारकर्मी, स्वास्थ्यकर्मी लगायतको टोली साथमा लिएर अनुगमन र सचेतना गराउने काम गरेको छ । माक्सको अभाव हुन थालेपछि स्थानीय प्रशासन र स्थानीय तहले वालिङका मेडिकल एवं स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । अनुगमनबाट खासै माक्सको कालोबजारी नभएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताउनुभयो ।

जिल्लाको पुतलीबजार, भीरकोट, चापाकोट, गल्याङ र वालिङ नगरपालिका साथै आँधीखोला, अर्जुनचौपारी, फेदिखोला, विरुवा, हरिनास र कालीगण्डकी गाँउपालिकाले पनि कोरोना भाइरसबाट बच्न विभिन्न सचेतनामूलक कार्यक्रम सहित स्वास्थ्य सामाग्री पनि वितरण गरेका छन् । गल्याङ नगरपालिकाले गण्डकी प्रदेशको मुख्य नाका राम्दीमा हेल्थ डेक्स नै स्थापना गरेको छ ।

दुई स्वास्थयकर्मी र सुरक्षाकर्मी नै राखेर रुपन्देहीबाट स्याङ्जा प्रवेश गर्ने सबै यात्रुवहाक सवारीसाधनमा यात्रा गर्ने सबै यात्रुहरुको चेकजाँच पछि मात्रै जिल्ला प्रवेश गराइएको छ । हरेक वडामा हेल्थडेक्स देखि लिएर हात धुने र सुरक्षित हुने अवस्थाको बारेमा सचेतना सबै पालिकाले गर्दै आएका छन् । चापाकोट नगरपालिकाले पनि सबै वडा र स्वास्थयचौकीमा हेल्थडेक्स स्थापना देखि औषधीहरु वितरण गरेको जनाएको छ । चापाकोटमा माक्सको अभाव रहेपनि सबै नागरिकलाई सुरक्षित हुन आग्रह गरेको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताउनुभयो ।

यस अगाडी जिल्ला समन्वय समितिको विपत व्यवस्थापन समितिको बैठक बसेर सबै नागरिकलाई सामान्य रुघाखोकी लागेमा स्वास्थ्य चौकी वा स्वास्थ्यकर्मी सगँ पुग्न आग्रह गरेको थियो । सबै पालिकाहरुलाई उच्च सतर्कता अपनाएर आफ्ना पालिकाबासीको स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेको थियो । अहिले सम्म मौसमी रुघाखोकीका विरामीहरु आएपनि कोरोनाको संक्रमण नदेखिएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । जिल्लाका पालिकाले अहिले सम्म खेलेको भुमिका महत्वपूर्ण रहेपनि यसको निरन्तरताको लागि भने चासो दिइरहनु आवश्यक छ ।