सिर्जना पन्त, बागलुङ
बाग्लुङको बलेवाका युगराज शर्मा केही तनावमा देखिनुहुन्थ्यो । जिल्ला प्रशासन कार्यालय बाग्लुङको नागरिकता फाँटमा काम गर्दै आउनुभएका शर्मा विश्वभर महामरीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारणले सेवा प्रवाहका साथै सेवा लिन आउने सेवाग्राहीबाट भाइरस सर्छ कि भन्ने कुराले झस्काउने गरेको बताउनुहुन्छ ।
‘भन्न त नेपालमा कोरोना आएकै छैन, किन डराउनुप¥यो भनिन्छ, भन्छन’, शर्माले भन्नुभयो– ‘नेपालमा संक्रमण देखिएको छैन भनेर कसरी ढुक्क भएर बस्नु ?’ ‘दैनिक ५० भन्दा बढी मानिसको हात समात्नुपर्छ, ल्याप्चे लगाइदिनुपर्छ’, उहाँले भन्नुभयो, ‘जिल्लाकै सबैभन्दा भीडभाड बढी हुने कार्यालयमा बसेर काम गर्दा मानसिकरुपमा केही तनाब र दबाब स्वभाविक हुने रहेछ ।’
वृद्धवृद्धा, वैदेशिक रोजगारीमा गएर आएका, बिभिन्न रोगका बिरामी सबै यहि कार्यालयमा आउने भएकाले पनि जोखिम बढि हुने उहाँको भनाइ छ । ‘मास्क लगाएर आएकाहरुलाई पनि पहिचानका लागि खोल्नुस् भन्नुपर्छ, आफैंले माक्स लगाएर कसरी बस्ने ? दैनिक समाचार पढ्दा, हेर्दा डर बढ्दै गएको छ ।’ –उहाँका तर्क छ ।
शर्मा मात्र होइन, जिल्ला प्रशासन कार्यालय बाग्लुङकै सोधपुछ शाखामा काम गर्दै आउनुभएका रमेश अधिकारी पनि कोरोनाबाट समयमै सचेत हुनुपर्ने बताउनुहुन्छ । कोरोना आतंकका कारण पछिल्ला दिनमा प्रशासन कार्यालयमा आउने सेवाग्राही स्वतः घटेका छन् । ‘अति आवश्यक काम परेकाहरु मात्र कार्यालयमा आउने गरेका छन्,’ उहाँले भन्नुभयो–‘कार्यालयमा आउने सेवाग्राही पनि धेरै सचेत भएर आउने गरेको पाइएको छ । बिरामी देखिने सेवाग्राहीलाई अस्पताल गएर चेकजाँच गर्नका लागि सुझाव दिने गरेका छौं ।’
जिल्ला प्रशासन कार्यालय बाग्लुङमा पछिल्ला केही दिनयता सेवाग्राहीको संख्यामा उल्लेख्य कमी आएको छ । फागुन ३० गते जिल्ला प्रशासन कार्यालय बाग्लुङमा २ सय ९३ जना सेवाग्राही सेवा लिन आएका थिए । सेवाग्राहीको संख्या क्रमश घट्दै चैत १ गते जम्मा ८१ जना, ३ गते ७७ र ४ गते ५१ जना सेवाग्राहीले मात्र सेवा लिएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनमै नागरिकताको साक्षी बस्न आएकी बाग्लुङ नगरपालिका–७ की हरिकला विक कोरोना भाइरसका बारेमा धेरै सुनेकाले बजारमा मास्क नपाएपछि गम्छाले मुख छोपेर हिँड्ने गरेको बताउनुभयो । ‘छोरा विदेशमा छन्, म त बुढी मान्छे के जान्नु ?’, विकले भन्नुभयो– ‘छोराले मास्क लगाउनु, धेरै मान्छे भएको ठाउँमा नजानु, साबुनपानीले हात धुनु, तातो तातो खानु भनेको छ । अरु त सबै गरिरहेको छु । तर, मास्क नपाएपछि गम्छाले मुख छोपेर हिँड्ने गरेकी छु ।’
विश्वभर महामारीका रुपमा फैलिँदै गरेको कोरोनाको जोखिमबाट बच्न जिल्लामा उच्च सर्तकता अपनाउने निर्णय गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले बताउनुभयो । ‘कोरोनाको जोखिम र त्रास सर्वत्र बढेको छ, संक्रमण कतै देखिएको छैन । यसको अर्थ हामी केही सजगता अपनाएर नबस्ने भन्ने होइन’, प्रजिअ शैजुले भन्नुभयो– ‘रोग लाग्नुभन्दा अघि रोग लाग्न नदिनु नै उत्तम उपाय हो ।’
कोरोनाले शक्तिशाली देश चीन, अमेरिका जस्ता देशलाई समेत आततायी बनाएकाले बेलैमा सचेतता अपनाउन आवश्यक रहेको प्रजिअ शैजुको भनाइ थियो । प्रशासन कार्यालयमा आउने अधिकांश सेवाग्राही सचेत भएको पाइएको र नभएकाहरुलाई पनि कोरोनाबारे सचेत बन्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बागलुङले सरोकारवालासँग सर्वपक्षिय बैठक राखेर जिल्लामा सभा समारोह, मेला महोत्सव, भोज भतेर, बार्षिकोत्सव, महायज्ञ, खेलकूद कार्यक्रम जस्ता मानिसहरुको भीडभाड हुने कुनै पनि गतिविधि नगर्न आग्रह गर्ने निर्णय गरेको थियो । जस अनुसार, अहिले ठुला कुनै पनि कार्यक्रम आयोजना गरिएका छैनन् । पूर्वनिर्धारित कार्यक्रमहरु पनि स्थगन गरिएका छन् ।











प्रतिक्रिया