कोरोनाबाट जात्रा पर्व प्रभावित


सुनील महर्जन, काठमाडौं

कोरोना भाइरसको संक्रमण फैलिने जोखिमले काठमाडौं उपत्यकामा मनाइने जात्राहरू प्रभावित हुने भएका छन्।

कोरोनाको सजगता अपनाउँदै यसपटकका पाहाँःचह्रेमा राजधानीको असन र टुँडिखेलमा द्यः ल्वाकिगु जात्रा (देवताको खट जुधाउने) नहुने भएपछि जात्रा पर्व प्रभावित हुने सम्भावना बढेको हो।

हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौंका नेवाः समुदायले पाहाँःचह्रे मनाउने गर्छन्। काठमाडौंका नेवाःसमुदायको यो दशैंपछिको ठूलो पर्व हो।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै खट जात्रा नगरिने निर्णय गरिएको लुँमधि भद्रकाली गुठीले जनाएको छ। ‘जात्राका क्रममा हजारौं मानिस भेला हुने अवस्था हुँदा असनमा खट नजुधाउने, चिलाख नसाट्ने र उत्सवका रूपमा दैनिकरूपमा जात्रा पनि नगर्ने भएका छौैं।’ –गुठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

असन र टँुडिखेलमा द्यः ल्वाकेगु जात्रा नहुने भए तापनि जात्राका लागि निकालिनुपर्ने सबै देवीहरूलाई विधिपूर्वक बाहिर निकालिने र निश्चित रुटमा परिक्रमा भने गराइनेछ। यद्यपि, जात्राका क्रममा धेरै संख्यामा मानिसलाई जम्मा नगरी बाजा बजाउनेसहित गुठीका आवश्यक व्यक्ति मात्रै सहभागी हुने बताइएको छ।

नेपाल भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। च¥हे चन्द्रमासको क्यालेन्डरअनुसार १४औं दिनलाई भनिन्छ। पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरिन्छ। साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरिन्छ।

लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गरिन्छ। घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेंलो र सेतो फूल राखेर पूजा गरिन्छ। त्यसै गरी कंकेश्वरी देवीलगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ।

पाहाँच¥हे पर्वको दोस्रो दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ। ८४ व्यञ्जनसहितको सो परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ।

चैत महिना काठमाडौं उपत्यकाको जात्राको महिना हो। चैतदेखि वैशाखको अन्त्यसम्म उपत्यकाका प्रायःसबै स्थानमा जात्रापर्व हुने गर्दछन्। कोरोना भाइरसप्रति सजग हुन, भीडमा सहभागी नहुन सरकारले आग्रह गरेपछि यी पर्व पनि प्रभावित भएका छन्।

मातातीर्थको महालक्ष्मी, हाँडीगाउँको गहना खोज्ने, ठिमीको जिब्रो छेडाउने, भक्तपुरको भैरवनाथ र नगदेश र लुभुको महालक्ष्मी जात्रा, सिद्धिपुरको जात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रालगायत, बालाजु बाइसधारा स्नान, धर्मस्थली, मनमैंजुको जात्रा, खट जुधाउने जात्रा, टोखा सपनतीर्थ मेलालगायत उपत्यकामा दर्जनौं जात्रा वैशाखको अन्त्यसम्म परेका छन्।

संस्कृतिविद् सत्यमोहन जोशीले जात्रापर्वलाई यो साल सांकेतिक रूपमा मनाउन आग्रह गर्नुभएको छ। अर्का संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भने पर्व रोक्न नहुने बताउँदै भन्नुभयो– ‘भीडभाडमा स्वास्थ्यप्रति सजग भने हुनुपर्दछ।’

यसैबीच ंसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रत्येक मठमन्दिर, विहार, गुम्बा, देवस्थल, तीर्थस्थल, मस्जिद, चर्चमा २५ जनाभन्दा बढी भेला नगर्न, सबैले मास्क लगाउन आग्रह गरेको छ।