‘सेनाले डिस्पोज गरेको ग्रेनेड विस्फोटक पदार्थ हैन’


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली सेनाको एउटा बम डिस्पोजल टोलीले डिस्पोज गरेको ग्रेनेड बमको अवशेष विस्फोटक पदार्थ नभएको बुझिएको छ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले परीक्षण गरेको उक्त ग्रेनेडको अवशेष विस्फोटक पदार्थ नभएको पाइएको हो।

प्रयोगशालाको च.नं. २०५७ को २०७६ चैत ३ गतेको महानगरीय प्रहरी वृत्त, चापागाउँलाई प्राप्त परीक्षण प्रतिवेदनले परीक्षणका क्रममा उक्त नमुना कडा वा नरम खाले विस्फोटक पदार्थको तत्त्वहरू नभएको देखाएको हो।

ललितपुरको गोदावरी नगरपालिका–५ लेलेमा सुकराम मिजारको घरमा फागुन ५ गते उक्त ग्रेनेड फेला परेको थियो। उक्त ग्रेनेड तत्काल लेले देवीडाँडामा रहेको भैरव गणको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो। डिस्पोज भएपछि त्यसको अवशेषलाई नमुना परीक्षणका लागि वृत्त चापागाउँले विधिविज्ञान प्रयोगशालामा पठाएको थियो।

नमुना परीक्षणमा विशेष गरी ती अवशेष कडा वा नरम विस्फोटक पदार्थजस्ता कुन किसिमको भएको भन्दै अनुसन्धानका लागि परीक्षण प्रतिवेदन माग गरिएको थियो।

प्रयोगशालाका परीक्षणकर्ता प्रहरी नायब उपरीक्षक पवन ढुंगाना र प्रहरी उपरीक्षक योगबहादुर पलद्वारा हस्ताक्षरित परीक्षण प्रतिवेदनमा भनिएको छ– ‘नमुना नं. १ मा कम विस्फोटक पदार्थको तत्त्वहरूमा पोटासियम, नाइट्रेड, क्लोरेट र सल्फर र कडा विस्फोटक पदार्थको तत्त्वमा एनजी, एएनएफओ, टीएनटी, पीइटीएन पाइएन।’

यस्तै बम डिस्पोजमा संलग्न सेनाको भैरव गणसँग पनि प्रहरीले उक्त विस्फोटक पदार्थ कस्तो प्रकृतिको हो भनी पत्राचार भएको थियो। गणले जवाफ दिँदै च.नं. २५५४ को फागुन १३ गतेको पत्रअनुसार ‘उक्त वस्तु विस्फोटक पदार्थ प्लास्टिक ह्यान्ड गे्रनेड भएको, त्यसको कारागार रेन्ज (मार गर्ने) चारैतर्फ ११/११ गज भएको र त्यसको खतरा इलाका चारैतर्फ २००/२०० गज भएको’ दाबी गरिएको थियो।

उक्त ग्रेनेड आफूले राखेको भनी सेनाका पूर्वहुद्दा राजन सार्कीले स्विकारेपछि उनी पक्राउ परेका थिए। उनी सुकरामका छिमेकीसमेत थिए। उनीविरुद्ध जिल्ला अदालत ललितपुरमा विस्फोटक पदार्थसम्बन्धी अभियोग दर्ता भएको थियो।

अदालतमा फागुन ३० गते चलेको थुनछेक आदेशमा खुलेको धरौटी रकम तिरेर उनी थुनामुक्त छन्। अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई २ लाख धरौटी माग गरेको थियो।

इजलासले उनले नै उक्त ग्रेनेड राखेको कोही गवाहा नभएको, विस्फोट भई कसैलाई क्षति नभएको, ग्रेनेड कडा, नरम वा सामान्य कुन किसिमको हो भनी परीक्षण भई प्रतिवेदन प्राप्त नभइसकेको, तत्काल प्राप्त प्रमाणको आधारमा उक्त ग्रेनेड कसले राखेको भन्ने एकिन हुन नसकेको भन्दै धरौटीमा रिहा गरिदिएको हो।