मधुसूदन रायमाझी, काठमाडौं ।
गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेको निष्कर्ष निकाल्दै थप सतर्कता अपनाउने निर्णय गरेको छ।
कोरोना भाइरस देशभित्र भित्रन नदिन अधिकतम स्रोत र साधन परिचालन गर्नेसहित मन्त्रालयले खुला सीमा नाकाबाट कोरोना भाइरस संक्रमितलाई नेपाल भित्रन नदिन थप प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो।
कोरोनाको वस्तुस्थिति, पूर्वतयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बिहीबार गृह मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको, उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको र भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पर्न सक्नेतर्फ सचेत रहन सीमा नाकामा हुने चेकजाँचलाई थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो।
१४ मध्ये ४ नाकामात्र सञ्चालनमा ३ लाख १० हजारको स्वास्थ्य परीक्षण १ सय ३३ हेल्थ डेक्स अफबाह फैलाए १ लाख जरिवाना र ६ महिना कैद
धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरू सेवा प्रवाहमा भिडभाड कम गर्ने विषयमा बैठकमा छलफल भएको बताउँदै कार्यकारी प्रमुख पोखरेलले भन्नुभयो– ‘मालपोत, विद्युत् प्राधिकरणलगायतका कार्यालयमा सेवाग्राहीको भिड कम गर्न प्रविधिको प्रयोगमा जोड दिनुपर्ने र राजस्व बुझाउने कार्यालयहरूसँग समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्ने वातावरण मिलाउने विषयमा छलफल भएको छ, सरोकारवाला निकायसँग छलफल गरेर निर्णय हुन्छ।’
सरकारले सीमा नाकामा थप कडाइ गर्ने नीति लिएको छ। गत फागुन २४ गतेदेखि सरकारले ४ वटा नाकामा १ सय ३३ वटा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेक्स) स्थापना गरेर आवतजावत गर्ने यात्रुको चेकजाँच गर्दै आएको छ।
दुई साताको अवधिमा भारतबाट नेपाल आउने र नेपालबाट भारततर्फ जाने ३ लाख १० हजार मानिसको स्वास्थ्य परीक्षण गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीण श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो। भारतसँग सीमा जोडिएका ४ नाकामा रहेको हेल्थ डेस्कमार्फत आशंका लागेका व्यक्तिलाई अस्पतालमा जान सुझाव दिने गरिएको छ।
स्वास्थ्यकर्मी, सुरक्षा निकाय र स्वयम्सेवक रहेको संयुक्त हेल्थ डेक्सलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण नेपालमा भित्रन नदिन बनवासा, सुनौली, वीरगन्ज र रानीगन्ज नाका मात्र सञ्चालनमा ल्याएको छ।











प्रतिक्रिया