कोरोनाका कारण ताजमहल बन्द


आगरा, (एजेन्सी)
कोरोना भाइरस फैलिन नदिने उद्देश्यले भारतको अदभूत स्मारक ताजमहल बन्द गरिएको मंगलबार सकारी अधिकारीहरूले बताएका छन्।
भारतीय संस्कृति मन्त्रालयले भनेको छ– ‘प्रत्येक दिन हजारौं मानिस अमर प्रेमको नमुना मानिने आगरास्थित ताजमहल हेर्न आउने गर्छन्। यसरी भीड बढ्ने स्थानमा कोरोनाको खतरा धेरै हुने भएकाले यसलाई बन्द गरिएको हो।’
पर्यटकहरूका लागि विश्वकै सबैभन्दा आकर्षक स्थलहरूमध्ये एक मानिने ताजमहलमा दैनिक सरदर ७० हजार पर्यटक पुग्ने गरेका छन्। भारतमा हालसम्म १ सय २६ जना मानिसमा कोभिड–१९ संक्रमित भएको तथा ३ जनाको ज्यान गइसकेको पुष्टि भइसकेको छ। भारतले ६ हजार स्वास्थ्य परीक्षण गरिसकेको छ।
मंगलबार भारत सरकारले जनतालाई सुरक्षित राख्नका लागि देशभरि पुरातात्त्विक सर्भेक्षणबाट सञ्चालित सम्पूर्ण स्मारक र संग्रहालय बन्द गर्ने घोषणा गरेको छ।
संस्कृति मन्त्री प्रल्हाद पटेलले आगामी ३१ मार्चसम्मका लागि सरकारले देशका १ सय ४३ वटा स्मारक तथा संग्रहालय बन्द गर्ने घोषणा गरेको र त्यसपछि पनि बन्द अवधि बढाउनेबारे पुनर्विचार हुने बताएका छन्।