होटलका कारण सुरक्षामा चुनौती


नेपाल समाचारपत्र, बारा

दक्षिणी सीमावर्ती क्षेत्रमा खोलिएको मदिरा पसल र होटलका कारण सुरक्षा चुनौती बढेको छ। नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै खुलेका होटलमा मदिरा सेवन गर्न आउने भारतीय नागरिकका कारण सुरक्षा चुनौती थपिएको हो।

दशगजा केन्द्रबाट एक किलोमिटर वरपर होटल सञ्चालनमा ल्याउन नपाइने नियम रहे पनि व्यवसायीहरूले अटेरी गरी मदिरा पसलसँगै अन्य व्यवसाय पनि सञ्चालमा ल्याएका छन्। दशगजा क्षेत्रमा खुलेका होटलमध्ये अधिकांश भारतीय नागरिकको स्वामित्वमा रहेका छन्। त्यस्ता होटलमा मदिरा सेवन गर्न आउने पनि भारतीय नागरिक नै बढी छन्। जिल्लाका विभिन्न नाकामा दर्जनभन्दा बढी मदिरा पसल र होटल सञ्चालनमा छन्।

भारतको बिहार सरकारले ६ वर्षअघि मदिरामा रोक लगाएपछि सीमापारिका मान्छेले नेपालमा आएर होटल खोल्न शुरू गरेका हुन्। उनीहरूमध्ये केहीले नेपालतर्फको जमिन खरिद र अधिकांशले भाडामा लिएर होटल चलाउँदै आएका छन्। भारतमा प्रतिबन्ध भए पनि दशगजा नजिकै नेपालमा खुलेका होटलका कारण भारतीय पारखीहरूलाई मदिरा सेवन गर्न सहज भएको छ।

दिनभर सुनसान हुने यस क्षेत्रका होटलहरू साँझ परेसँगै भारतीय ग्राहकले भरिभराउ हुने सुवर्ण गाउँपालिका कवहीगोठका रामाधार साहले बताउनुभयो। विश्रामपुर गाउँपालिकासँग सीमा जोडिएको मुसहर्वा, बरैनियालगायतका क्षेत्रमा खुलेका होटलमा मदिरा सेवन गर्न ठूलो संख्यामा बिहारबाट आउने ग्राहकबीच हुने झगडा र विवादले गाउँको शान्ति सुरक्षामा असर परेको भन्दै स्थानीयले गुनासो गरेका छन्।

सीमा क्षेत्रमा अनधिकृत रूपमा खुलेका मदिरा होटल हटाउन प्रहरी प्रशासनसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ। स्थानीय प्रहरी प्रशासनले भने दशगजा क्षेत्र बाहिर मात्र केही होटलहरू रहेको र सुरक्षामा कुनै पनि समस्या नभएको बताउने गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीका अनुसार दशगजा सीमा क्षेत्रमा प्रहरीले नियमित अनुगमन तथा सरसफाइ गरेर कानुनविपरीत हुने सबै गतिविधिमा रोक लगाएको छ। सीमा क्षेत्रको सुरक्षाका लागि जिल्लाको सातवटा बोर्डर आउट पोस्टअन्तर्गत पाँच स्थानमा सीमा अतिक्रमण, अवैध निकासी पैठारी, तथा गैरकानुनी क्रियाकलाप रोक्ने उद्देश्यले स्थानीय भाषामा सन्देशमूलक होडिङ बोर्ड राखिएको छ।

जिल्लाको मटिअर्वामा कलैया उपमहानगरपालिकासँग समन्वय गरेर भारतीय एसएसबीको सहयोगमा दशगजा अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा, झुपडी तथा पसलहरू हटाइएको पनि उहाँले जानकारी दिनुभयो।