१४ हजार ४ सय १८ बालबालिकलाई खोप


शिक्षा पन्त, लमजुङ

दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। चैत ८ देखि दादुरा–रुबेला खोप अभियानमा जिल्लाका करिब १४ हजार ४ सय १८ बालबालिकलाई दादुरा–रुबेलाविरुद्धकोे खोप लगाइने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ।

जिल्लामा दादुरा रुबेलासम्वन्धी रोग शून्यमा पु¥याउने लक्ष्य भए पनि त्यस्तो अवस्था नभएकाले नियमित खोपबाहेक अभियान नै सञ्चालन गर्नुपरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीको भनाइ छ। दादुरा रुबेला रोग निवारणका लागि राष्ट्रिय कार्यक्रमअन्तर्गत जिल्लामा दुई चरणमा पाँचौं राष्ट्रिय दादुरा रुबेला खोप अभियान हुने भएको हो। जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार अगामी चैतको ८ देखि १६ गते र चैत २१ देखि ३० गतेसम्म गरी दुई चरणमा अभियान सञ्चालन हुने भएको हो।

पहिलो चरणको अभियानमा बेंसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा खोप अभियान चल्नेछ भने दोस्रो चरणमा मध्यनेपाल, राइनास नगरपालिका, क्होलासोंथार र दूधपोखरी गाउँपालिकामा अभियान हुने जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो। खोप अभियानका लागि जिल्लामा तीन सय २५ स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी छ।

जिल्लाका ६ सय ३० खोप केन्द्रमा दुईजना स्वास्थ्य स्वयंसेविका पनि परिचालनको तयारी गरिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। यसअघि जिल्लामा सन २००४, २००८, २०१२ र २०१६ मा यस्ता अभियान सञ्चालन गरेको थियो। तर, दादुरा रोग नियन्त्रणका लागि सरकारले राखेको लक्ष्य प्राप्त नभएपछि पुनः अभियान सञ्चालन गर्नुपरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

दादुरा–रुबेलाविरुद्धको खोप बच्चा जन्मिएको ९ महिना र १५ महिनामा गरी अनिवार्य दुईपटक लगाउनुपर्छ। जिल्लाको तथ्यांकअनुसार ७० प्रतिशत बालबालिकाहरूले पहिलो चरणको दादुरा खोप लगाएका छन् भने ७६ प्रतिशतले दोस्रो चरणको दादुरा खोप लगाएको पाइएको छ। यसअघि लमजुङलाई २०७३ सालमा पूर्ण खोप सूचित जिल्ला घोषणा गरिसकिएको छ।

सोही आधारमा जिल्लाका कुनै पनि बालबालिकाहरूलाई कुनै खोप छुटेको छैन भन्ने मान्यता राखिएको स्वास्थ्य कार्यालयको दाबी छ। सरकारले गर्भवती आमा, बच्चा जन्मनेबित्तिकै र ५ वर्षमुनिका बालबालिकालाई हाल विभिन्न ११ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ।