कालोबजारी र सामाजिक सञ्जाल आतंकविरुद्ध जाग्यो भक्तपुर

जिल्लादेखि वडा र टोल–टोलसम्म सबै संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय


नेपाल समाचारपत्र, भक्तपुर

कोरोना भाइरस (कोभिड–१९) र यसकै कारण देखा पर्न लागेको कालोबजारीलाई रोक्न र आगामी योजना निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरको बैठकले जिल्लादेखि वडा र टोल–टोलसम्म सबै संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकमा बोल्दै पूर्वमन्त्री तथा संघीय सांसद महेश बस्नेतले शीघ्र जिल्लाका ४ वटै नगरपालिकामा तत्काल विपद् व्यवस्थापन समितिको बैठक राख्नुपर्ने बताउनुभयो। सांसद बस्नेतले सम्भावित विपद्को पूर्वतयारीका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारक्षेत्र, सुरक्षाकर्मी, स्वयंसेवकलगायत सबैको सक्रियता आवश्यक रहेको बताउनुभयो।

बाग्मती प्रदेश सांसद शशिजंग थापाले हाल देशमा कोरोना, कालोबजारी र सामाजिक सञ्जाल र फेसबुकमार्फत सूचना आतंक फैलाएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै कोरोना नियन्त्रणका लागि सचेतता र धैर्यता आवश्यक रहेकोमा जोड दिनुभयो।

अर्का बाग्मती प्रदेश सांसद कृष्णलाल भँडेलले विपद्का बेला तीनै तहका सरकारको पूर्ण सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो। चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरपालिकाले आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन गरेको जानकारी दिँदै कोरोना भाइरस रोकथामका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो।

मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विपद् व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको थप सक्रियता र समन्वय आवश्यक रहेको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज थापाले जनचेतनाका लागि ५० हजार पर्चा वितरण गरिएको जानकारी दिँदै मुख्य चोक, सडक, विद्यालय र वडा कार्यालयहरूमा फ्लेक्स राखिएको जानकारी दिनुभयो।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले संघीयता आर्थिक बोझिलो भयो भनिरहँदा वडास्तरसम्म रहेका सरकारको बलियो उपस्थितिलाई यस सन्दर्भमा उपयोगी बनाउनुपर्ने बताउनुभयो। अध्यक्ष बुढाथोकीले कोभिड नियन्त्रणका सम्बन्धमा सञ्चार क्षेत्रले जोखिम मोलेरै भए पनि समन्वय, खबरदारी र सचेतीकरणको भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्भावित विपद्को पूर्वतयारीका लागि जिल्लामा सबै तह र तप्काले जिम्मेवारी बहन गरिरहेको बताउँदै थप सक्रियता र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

उहाँले जिल्लाका सबै स्थानीय तहमा छिट्टै विपद् व्यवस्थापन समितिको बैठक राखी योजना बनाउन घचघच्याउने बताउँदै स्वास्थ्य कार्यालयको अगुवाइमा ३ दिनभित्र प्रतिकार्ययोजना बनाउने गरी काम भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेले कोभिड नियन्त्रण र रोकथामका लागि स्थानीय तहले गर्नुपर्ने पूर्वतयारीको विवरणबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले सरकारले चाँगुनारायण नगरपालिकामा रहेको खरिपाटी र तेलकोट क्वारेन्टाइनलाई निरन्तरता दिने निर्णय गरेकाले दुवै भवनलाई निकट भविष्यको सम्भाव्य प्रयोगलाई विचार गरी तत्काल यथावत् अवस्थामा कायम आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जिल्लाका विभिन्न अस्पतालमा २३ बेडको आइसोलेसन क्षेत्र तोक्ने गरी तयारी भइरहेको बताउनुभयो। बैठकले जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय भवन तथा अन्य आवश्यक संरचना बनाउन पहल गर्ने, जिल्लाभित्र रहेको नगरपालिका र रेडक्रसमा विपद् व्यवस्थापनका लागि सम्पर्क व्यक्ति र गतिविधिको माग गर्ने, स्वास्थ्यकर्मी आवश्यक भएको अवस्थामा सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहनुपर्ने निर्णय गरेको छ।

यसैगरी, कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण र सजगता अपनाउनका लागि सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय तह, सञ्चारमाध्यम, नागरिक समाज, पेसाकर्र्मी, समाजसेवी, सामाजिक अगुवासँगको सहकार्यमा सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

उपभोग्य सामानको कृत्रिम अभाव हुन नदिन नियमित बजार अनुगमन गर्ने र अनुगमनबाट कालोबजारी गरेको पाइए तत्काल कानुनी कारबाही गर्ने र आसन्न एसईई परीक्षा केन्द्रहरूमा कोरोनासम्बन्धी हेल्प डेस्क सञ्चालन गर्नेसमेत बैठकले निर्णय गरेको छ। बैठकमा सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधि सबैको सहभागिता रहे पनि सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा र भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति भने सहभागी हुनुभएको थिएन।