काठमाडौंमा कुकुर आतंक: एउटै गल्लीमा ५० जनालाई टोक्यो


भूपराज बस्याल, काठमाडाैं । 

 

काठमाडौं महानगरपालिका पुतलीसडक छेउमा रहेको न्युप्लाजाको देवी गल्लीमा भुस्याहा कुकुरको आतंक देखिएको छ।

 

उक्त गल्लीमा करिब १५ वटा कुकुर एकै ठाउँमा बस्ने गर्छन् र त्यो गल्ली भएर हिँड्ने प्रायः नयाँ मान्छेलाई झम्टने गर्छन्। प्रायः बिहान बेलुका मानिसहरूमाथि जाइलग्ने ती कुकुरहरूले हालसम्म करिब ५० जनालाई टोकिसकेको स्थानीय शान्तराम भट्टराई बताउनुहुन्छ। ‘हामीले यी कुकुरले गर्दा निकै सास्ती पाएका छौं’, उहाँ भन्नुहुन्छ– ‘रातभरि पनि भुकेर सुत्न दिँदैन, दिनमा टोकेर हैरान पारिसके।’

 

काठमाडौं महानगरपालिकाको २९ नम्बर वडामा रहेको उक्त गल्लीमा बस्ने जो कोही पनि कुकुरसँग त्रसित देखिन्छन्। मैतीदेवीमा बसेर उक्त गल्लीमा काममा गर्दै आउनुभएकी सीता तामाङ केही दिन अघि तिनै कुकुरको टोकाइमा परेर हाल रेबिजविरुद्धको सुई लगाइराख्नुभएको छ।

 

‘काम गर्न भन्दै आएको दोस्रो दिनै कुकुरले टोक्यो’, नेपाल समाचारपत्रसँग बिलौना गर्दै उहाँले भन्नुभयो– ‘अब त यहाँ काम गर्न आउन पनि डर लागिसक्यो।’, ‘दुई छोराछोरीको भविष्य उज्ज्वल बनाउनका लागि पहिलेको काम छोडेर नयाँ काम शुरू गरेकी थिएँ। कुकुरले गरिखान दिएलाजस्तो लागेन’ –कुकुरले टोकेको घाउ देखाउँदै उहाँले भन्नुभयो।

 

त्यति मात्रै होइन त्यही टोलमा एउटा होस्टेलमा काम गर्ने बिनिता पराजुली पनि केही दिन पहिला तिनै कुकुरको टोकाइमा परेको बताउनुभयो। कुकुरले टोकेको घाउ देखाउँदै उहाँले भन्नुभयो– ‘रेबिजविरुद्धको सुई लगाएँ हालसम्म सकिएको छैन।’ आफ्नो उपचारको पर्चा देखाउँदै उहाँले पुनः भन्नुभयो– ‘काम गरेर आउने पैसा यिनै कुकुरले टोकेको उपचार गर्दागर्दै सकिने भयो।’

 

बढी महिलालाई आक्रमण गर्ने भुस्याहा कुकुरको चाँडै व्यवस्थापन गर्न उहाँको माग छ।

 

यसै विषयमा नेपाल समाचारपत्रसँग कुराकानी गर्दै काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुशकुमार ढकालले यस विषयमा कसैबाट आधिकारिक जानकारी नआएको हुँदा हालसम्म कुनै कदम नचालिएको बताउनुभयो।

 

उहाँले भन्नुभयो– ‘कुकुर नियन्त्रण गर्न खोज्यो विभिन्न मानवअधिकारवादी संस्थाले अवरोध गर्छन्।’ उहाँले महानगरपालिकाले पनि स्थानीय जनप्रतिनिधिमार्फत भन्दा विभिन्न संघ/संस्थालाई रकम बाँड्ने गर्छ, यसबारेमा आफूले जानकारी पाए पनि ती संस्था गुहार्नुपर्ने अवस्था महानगरपालिकाले सिर्जना गरेको हुँदा तिनै संस्थालाई अध्ययनका लागि पठाउने बताउनुभयो।

 

यस्ता काममा अन्य संस्थालाई बजेट दिनभन्दा जनप्रतिनिधिलाई बजेट दिएर यस्ता समस्या समाधानतिर लाग्न पनि महानगरपालिकलाई सुझाव दिँदै यो समस्याका लागि आफूले तत्काल यस क्षेत्रमा काम गर्ने संस्थामार्फत यो समाधानतिर लाग्ने बताउनुभयो।