‘सांसदको प्राथमिकता सदनमा हुनुपर्छ’


काठमाडौं, (नेस) ।  

प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुग्दा बैठक नै स्थगित हुने क्रम बढेपछि सभामुख अग्नि सापकोटाले सांसदहरूले सदनलाई नै प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। उहाँले सदनलाई प्रभावकारी बनाउन सांसदहरूको बलियो उपस्थिति हुनुपर्ने बताउनुभएको हो।

‘मुख्य गरी जनताले सांसदहरूलाई नियम कानुन बनाउन जिताएर पठाएका हुन्, सबैभन्दा पहिलो प्राथमिकता सदनलाई नै दिनुपर्छ’, सभामुख सापकोटाले भन्नुभयो– ‘सदनको भूमिकालाई थप प्रभावकारी बनाउन दलका नेता, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल अगाडि बढाएको छु।’

उहाँले सांसदहरू योजना छनोटलगायतको काममा जिल्ला जाने कामले गर्दा कम उपस्थित भएको बताउँदै पार्टीका अधिकांश नेताहरू सांसद रहेकाले पार्टीको कार्यक्रममा जाने गरेकाले उपस्थिति कम हुने गरेको दावी गर्नुभयो।

सांसदहरू हाजिर गरेर हिँड्ने विषय काम विशेषले जाने गरेको जानकारी पाएको बताउँदै उहाँले सांसदहरूको उपस्थिति प्रभावकारी बनाउन परामर्श समिति र नेतृत्वदायी भूमिकामा रहेका सांसदहरूसँग समेत परामर्श अगाडि बढाएको जानकारी दिनुभयो।

सोमबार सिंहदरबारमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै सभामुख सापकोटाले भन्नुभयो– ‘उपसभामुख चयनको बारेमा सत्तारुढ दलले उम्मेदवार टुंगो लगाएपछि मात्र प्रक्रिया अगाडि बढ्छ, सत्तारुढ दलको निर्णयको प्रतीक्षामा छौं।’

उपसभामुख चयनको बारेमा दलहरूको बीचमा सहमति भएपछि आफूले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने मात्रै भूमिका हुने उहाँको भनाइ थियो। साथै सभामुख सापकोटाले उपसभामुख चयनको बारेमा सत्तारुढ दलसँग परामर्श अगाडि बढाएको जानकारी दिनुभयो।

सीमासम्बन्धी संकल्प प्रस्ताव किन कार्यसूचीबाट हटाइयो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– ‘सीमासम्बन्धी संकल्प प्रस्ताव कुनै कारण विशेषले हटाइएको होइन, समयको व्यवस्थापन नहुँदा मात्र केही दिन स्थगित भएको हो, यो भन्दा ठूलो संकल्प प्रस्ताव अरू हुन सक्दैन, आगामी दिनमा यो प्रस्ताव सदनमा पेस हुन्छ।’

‘कोरोना भाइरस देशभित्र भित्रन नदिने गम्भीर भएर सोच्नुपर्छ, केही दिन स्थगित भएको सदन चैत्र ७ गते बस्दैछ, सदनले पनि प्रभावकारी भूमिका निर्वाह गर्छ।’

आगामी बैठकपछि संसद् बैठकलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा निर्णय लिने सभामुख सापकोटाले स्पष्ट पार्नुभयो।

आगामी बुधबार प्रतिनिधिसभाअन्तर्गत रहेका समितिका सभापतिहरूसँग बैठक गर्न लागेको बताउदै सभामुख सापकोटाले भन्नुभयो– ‘यतिसम्म दर्दानक रहेछ कि तीन पटकसम्म सर्वोच्च अदालतबाट मुद्दा जित्दा समेत नागरिकता नपाएका घटना छन्, यस विषयमा म गम्भीर छु जतिसक्दो छिटो विधेयक पारित गराउने गरी भूमिका खेल्छु।’

उहाँले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कोरोना भाइरससँगै बहसमा रहेको बताउँदै यस विषयमा अहिले छलफल भइरहेको जानकारी दिनुभयो।

संघीय संसद् भवन निर्माणको काम निकै तीब्र गतिको साथ अगाडि बढेको बताउँदै आफू उत्साहित भएको उहाँको भनाइ थियो।