पेट्रोलियम पदार्थ पर्याप्त छ : निगम, हाहाकार देखिन थाल्यो: उपभोक्ताकर्मी

नेपाल ग्याँस उद्योग संघ र विक्रेताले नयाँ सिलिन्डर नबेच्ने 


डीबी बुढाथोकी, काठमाडौं ।

 

श्वभर कोरोना भाइरसको संक्रमणसँगै त्रास फैलिइरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको भन्ने विषयमा नेपाल आयल निगम र उपभोक्ताकर्मीले आ–आफ्नै अनुकूलको प्रतिक्रिया दिएका छन्।

निगमले बजारमा डिजेल, पेट्रोल, एलपी ग्याँस पर्याप्त रहेको बताइरहँदा राष्ट्रिय उपभोक्ता मञ्चले सो भनाइ ठाडै इन्कार गरेको छ।

मञ्चले राम्ररी बजार नियालिरहेको र देशैभरि हाहाकार देखिन थालेको बताउँदै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सोमबार नै तेल थाप्ने सवारीसाधनको लाम अचाक्ली बढेको पाइयो। सरकार बजार व्यवस्थापनमा चुकिरहेको छ। निगमले आयात बढेको छ भन्नुमा कुनै तुक छैन।’

अध्यक्ष महर्जनका अनुसार तेलको स्वचालित मूल्य निर्धारण प्रणालीका कारण घाटा पर्ने त्रासले व्यापारीले पेट्रोलियम आयत नगरेका हुन्। आजमात्र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ४० प्रतिशतले गिराबाट आएको छ। तेल खरिद गर्दा घाटा बेहोर्नुपर्छ भनेर आयात गरेका छैनन्।

तेल भाउ बढ्दा नाफा आर्जन गरेका यी व्यापारीले घाटामा परिन्छ भनेर आयात नगर्नु गैरजिम्मेवारी भएको बताउँदै उहाँले यसमा निगमका कर्मचारी र डिलरको मिलोमतो रहेको दाबी गर्नुभयो।

पेट्रोल पम्पहरू ड्राई पारे/नपारेको जाँच गर्नुपर्ने बताउँदै अध्यक्ष महर्जनले थप्नुभयो– ‘पैसा जम्मा गरेर पनि निगमले पीडीओ (प्रोडक्ट डेलिभरी अडर) नदिएको हो भने उसलाई पनि कारबाही गर्नुपर्छ।’

डिलरहरूले कृत्रिम अभाव सिर्जना गरेकाले तत्कालै बजार अनुगमन गर्नुपर्ने बताउँदै उहाँले अनुगमनका लागि मञ्चले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई झकझक्याइरहेको जानकारी दिनुभयो।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने नेपाल समाचारपत्रसँगको कुराकानीमा पेट्र«ोलियम पदार्थ अभाव नभएकाले आत्तिहाल्नु नपर्ने जिकिर गर्नुभयो।

‘अहिले हाम्रो भण्डारण ८० प्रतिशत छ। मागभन्दा बढी नै तेल आयात गरेका छौं’, उहाँले भन्नुभयो– ‘ट्याङ्कर बाटामा रहेकाले थोरै अभाबव जस्तो देखिएको हो। भोलि बिहानदेखि तेल जहाँतहीं पाउन सकिन्छ।’

प्रवक्ता गोइतका अनुसार एलपी ग्याँस पहिलेभन्दा बढी आयात भएको छ। अघिल्लो वर्ष यसै समयको फेब्रुअरीमा ३८ हजार मेट्रिक टन मात्र एलपी ग्याँस आयात भएको थियो। यसपालि सोही अवधिमा ४१ हजार मेट्रिक टन आयात भएको छ।

अहिले बजारको मासिक माग ४० हजार मेट्रिक टन मात्र हो भने कोरोना भाइरसका त्रासले पछिल्लो १५ दिनमा २२ हजार मेट्रिक टन आयात भइसकेको छ। उपभोक्ताले दोहोरोतेहेरो गरी सिलिन्डर सञ्चित गरेकाले अभाव जस्तो देखिएको हो।’

उता नेपाल ग्याँस उद्योग संघ र विक्रेताले भने संयुक्तरूपमा पत्रकार सम्मेलन गरी नयाँ सिलिन्डर नपाइने बताएका छन्।

‘ग्यासको अभाव देखिन थालेकाले आम उपभोक्ता मारमा नपरुन् भन्ने उद्देश्यले खालि सिलिन्डरवालालाई मात्र दिने नयाँ बिक्री नगर्ने निर्णय गरेका हौं’ –संघका अध्यक्ष गोकुल भण्डारीले पत्रकार सम्मेलनमा भन्नुभयो।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले फागुन २८ गते सम्ममा डिजेल, मट्टितेल र हवाइ इन्धन– ६८ हजार ३ सय ६४ केएल अर्थात ९ दिन पुग्ने खाना पकाउने एलपी ग्यास ७ दिन पुग्ने मौज्दात रहेको बताएको थियो।

तर पेट्रोलियम पदार्थ आयत असहज हुन नदिन बजार अनुगमनसहित आबश्यक व्यवस्था गर्ने मन्त्रालयले जनाए तापनि सोमवार भने पेट्रोल पम्पहरूमा तेल थाप्ने सवारी साधनहरूको लाइन साबिकको भन्दा निकै नै बढेको देख्न सकिन्थ्यो।