सार्क पुनर्जीवित भयो भन्नु भ्रम मात्र: परराष्ट्रविद्


सुनील महर्जन, काठमाडौं । 

कोरोना भाइरसको संक्रमणसँंग जुध्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरूबीच साझा मञ्च खडा गर्नु सकारात्मक भए पनि त्यतिले मात्र सार्कले पुनर्जीवन पाएको मान्न नहुने परराष्ट्र मामिलाका विज्ञहरू बताउँछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको महामारीसंँग लड्न बलियो रणनीति अवलम्बन गर्नुपर्ने प्रस्ताव आइतबार भिडियो कन्फ्रेन्समार्फत सार्क राष्ट्रका सरकारसंँग राख्नुभएपछि सार्कले पुनर्जीवन पायो भनेर एकथरीले गरेको टिप्पणीका सम्बन्धमा विज्ञहरूले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै सो धारणा प्रकट गरेका हुन्।

भारत–पाकिस्तान सम्बन्ध चिसिएपछि सार्क लगभग निस्क्रिय बनेको छ। सन् २०१४ यता सार्कको शिखर सम्मेलन पनि आयोजना हुन सकेको छैन। पछिल्लोपटक सन् २०१४ मा काठमाडौंमा सार्क शिखर सम्मेलन भएको थियो।

‘कोरोनाको विशेष परिस्थितिलाई ध्यान दिएर मात्रै यो प्रस्ताव आएको देखिन्छ, यतिले मात्र निस्क्रिय सार्कले पुनर्जीवन पायो भन्नु भ्रम मात्र हो’, राजनीतिक विश्लेषकसमेत रहेका भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बरालले भन्नुभयो– ‘यस प्रस्तावलाई कोरोनाको महामारीसँंग जुध्नका लागि राखिएको उपायका रूपमा मात्र सीमित गर्नुपर्छ।’

वरिष्ठ पत्रकार एवं प्राध्यापक पी. खरेलले पनि भारतीय प्रधानमन्त्रीको प्रस्तावलाई चोखिने उपाय बताउँदै भन्नुुभयो– ‘जसले बाधा हाल्यो, उसले समाधान खोजेर लाज बचाउने काम मात्र गरेको हो।’

‘यतिले मात्र भारतकै कारण निस्क्रिय रहेको सार्क सक्रिय हुनेछ भनेर अपेक्षा गर्नुहँुदैन’, पूर्वराजदूत बरालले भन्नुभयो– ‘भारत–पाकिस्तान तथा अरू राष्ट्रहरूबीच अनेक क्षेत्रीय जटिलता छन्, ती जटिलता हल नभएसम्म सार्कले गति लेलाजस्तो मलाई लाग्दैन।’

भिडियो कन्फ्रेन्समा पाकिस्तानका प्रधानमन्त्री इमरान खान सहभागी हुनुभएन, स्वास्थ्य राज्यमन्त्री डा. जफर मिर्जालाई पठाउनुभयो। मिर्जाले कन्फरेन्सका क्रममा जम्मु–कस्मिरको विषय पनि प्रवेश गराउनुभएकाले पनि त्यस जटिलतालाई इंगित गरेको पूर्वराजदूत बरालको भनाइ रहेको छ।

भारत–पाकिस्तान सम्बन्ध चिसिएपछि सार्क लगभग निस्क्रिय बनेको छ। सन् २०१४ यता सार्कको शिखर सम्मेलन पनि आयोजना हुन सकेको छैन। पछिल्लोपटक सन् २०१४ मा काठमाडौंमा सार्क शिखर सम्मेलन भएको थियो। अहिले सार्कको अध्यक्षता गर्दै शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाकिस्तानले पाएको छ।

पाकिस्तानले सार्कको १९औं शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा इस्लामावादमा गर्ने मिति घोषणा गरेको थियो। तर, भारतमा एउटा सैनिक ब्यारेकमा भएको हमला पाकिस्तानले गरेको आरोप लगाउँदै भारतले सो सम्मेलन बहिष्कार गर्ने घोषणा ग¥यो। त्यस बेला अफगानिस्तान, बंगलादेश र भुटानले पनि सार्क शिखर सम्मेलनमा जान नसक्ने बताएपछि सार्कलाई क्रियाशील बनाउने पछिल्लो प्रयासले सार्थक रूप लिएको थिएन।

यसबीचमा भारतले भुटान, बंगलालादेश, भारत, नेपाल अर्थात् ‘बीबीआईएन’ नामक उपक्षेत्रीय संगठनको अवधारणा अघि सारेको छ। विज्ञहरूले भारतको विदेश नीतिले पाकिस्तानलाई एक्ल्याउने उद्देश्य राखेको र त्यसको मारमा सार्क परेको बताउने गरेका छन्।

सरकार प्रमुखहरूबीचको कन्फ्रेन्समा पाकिस्तानका प्रधानमन्त्री खानले स्वास्थ्य राज्यमन्त्री डा. मिर्जालाई कुराकानी गर्न पठाउनुलाई प्रा. खरेलको भनाइमा ‘साँप पनि मर्ने र लठ्ठी पनि नभाँचिने उपाय’ भन्नुभयो। ‘कोरोनाविरुद्ध जुध्ने अभियानमा प्रतिबद्धता कायम गरेर पाकिस्तानले साँप मर्ने र प्रधानमन्त्री खान सहभागी नभएर लठ्ठी नभाँच्ने उपाय अपनाएको देखियो।’ –उहाँले भन्नुभयो।

आजसम्म भारतले कहिले भुटान त, कहिले माल्दिभ्सलाई अघि सारेर आफ्नो रोष प्रकट गर्दै आएको उल्लेख गर्दै प्रा. खरेलले भन्नुभयो– ‘तीन दशकभन्दा अघि सार्कको स्थापना हुँदादेखि नै भारत भित्रदेखि खुसी थिएन। छिमेकी साना देशहरू आफूप्रति असन्तुष्ट हुने र चीन वा अन्य कुनै मोर्चातिर लाग्ने डरले भारत रणनीतिकरूपमा सार्कमा सहभागी भएको हो।’

पछिल्लोपटक चीन महाशक्ति राष्ट्र बन्ने दिशामा रहेको र छिमेकी मुलुकहरूमा चीनको उपस्थिति बढेकाले भारतको होस खुलेको बताउँदै खरेलले भन्नुभयो– ‘चीनको उपस्थितिले भारतको मनमा चिसो पसेको थियो। तैपनि भारतले संकटमा जुध्न साझा मञ्चको प्रस्ताव गरेर अरू देशको असन्तुष्टिलाई कम पार्न खोजेको छ।’

प्रधानमन्त्री मोदीले कोरोनाको सम्भाव्य असरलाई ख्याल गरेर गर्नुभएको प्रस्ताव प्रशंसायोग्य रहेको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताउनुभयो। ‘यस पहललाई सार्कले पुनर्जीवन पाउने अपेक्षाको शुरूको कदमका रूपमा लिन सकिन्छ।’ –उहाँले भन्नुभएको छ।