सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं ।


स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिनुभएको छ। कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो।

मन्त्री ढकालले भन्नुभयो– ‘सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिइएको छ। अस्पतालमा काम गर्ने जनशक्ति र जोखिम हटाउन आवश्यक पहल गरिएको छ।’

नेपालमा आइतबारसम्म ४ सय ६४ जनामा कोरोना भाइरस परीक्षण गरे पनि एकजनामा पनि पोजेटिभ नदेखिएको उहाँको दाबी थियो।
मन्त्री ढकालले सरकारले भाइरसको संक्रमण हुन नदिन पूर्वतयारीका लागि गर्नुपर्ने कुनै कसर बाँकी नराखेको बताउनुभयो।

उहाँले गत फागुन १८ गते मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री रहेको अधिकार सम्पन्न समिति गठन गरेको, काठमाडौंका अस्पतालमा १ सय २० वटा आईसीयू तयार पारेको, काठमाडौंबाहिर १ सय १५ वटा आईसीयू तयारी अवस्थामा राखिएको र १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरिएको जानकारी दिनुभयो।

सरकारले औषधी र औजारको व्यवस्थापन गरिरहेको दाबीसहित मन्त्री ढकालले थप्नुभयो– ‘नेपालजस्तै जनसंख्या र भौगोलिक स्थिति भएका देश हेरेर दैनिक १ हजार ५ सयदेखि ४ हजारसम्म बिरामीलाई उपचार गर्न सक्ने व्यवस्थापन मिलाइएको छ।’

ज्वरो, सुख्खा खोकी देखिएमा अस्पतालमा परीक्षणको व्यवस्था मिलाइएको र परीक्षणमा पोजेटिभ देखिए राज्यले खर्च बेहोर्ने गरी उपचारको व्यवस्था मिलाएको उहाँको भनाइ छ।

चीनबाट फैलिएको भाइरस भारतमा देखिएपछि नेपालमा जोखिम बढेको भन्दै उहाँले केन्द्रदेखि नाकासम्म व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताउनुभयो।

सरकारका अनुसार दुवै छिमेकी मुलुक आवतजावत गर्नसक्ने १ सय २९ वटा साना–ठूला नाकामध्ये ४३ नाकामा स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको छ। चीन र भारततर्फ सीमाना जोडिएका देशका १ सय २८ स्थानीय तहलाई २१ बुँदे निर्देशन पठाएर आवश्यक सावधानीका लागि भनिएको छ।

यस्तै विदेशबाट नेपाल आउनेको खकार जाँची रोग नभएको प्रमाणित भएपछि मात्रै आउन दिइएको छ। विदेशबाट आउने व्यक्ति नेपाल आइसकेपछि सेल्फ क्वारेनटाइनमा १४ दिन बस्नुपर्छ। जोखिमयुक्त देशबाट आएका नेपाली होम क्वारेनटाइनमा बस्नुपर्छ।

चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट ४६ देशमा मानिसको मृत्यु भएको छ। ती देशमा अहिलेसम्म १ लाख ५६ हजार जनामा यो भाइरसको संक्रमण देखिएको छ भने ५ हजार ८ सयभन्दा बढी मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्।