होलीबाट संकलित रकम सामाजिक कार्यमा

0
Shares

विनोद सिंह विष्ट, बैतडी

 

दोगडाकेदारका युवाले होली खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्च गरेका छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोट युवाले होलीबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरेका हुन् ।

 

श्रीकेदारनाथ भूमिराज होली कमिटी गठन गरेर श्रीकोटका युवाले होली खेलेका थिए । ४ दिनसम्म होली खेलेर उठेको ६० हजार रुपियाँ विवाह, व्रतबन्धका लागि आवश्यक पर्ने टेन्टलगायतका सामाग्री किनेको श्रीकेदारनाथ भूमिराज होली कमिटीका सदस्य गणेश विष्टले जानकारी दिनुभयो । श्रीकोटका युवाले विगत ५ वर्षदेखि होली खेलेर संकलित रकमले यसअघि विवाह व्रतबन्धलगायतमा आवश्यक पर्ने भाँडाकुडा, बाजागाजा, वाध्यवाधन डीजेलगायतका सामग्री किनिसकेका छन् ।

 

२०७२ सालदेखि प्रत्येक वर्ष होली खेली हालसम्म २ लाख ४० हजार रुपियाँ संकलन गरिसकेको कमिटीका सदस्य विष्टले बताउनुभयो । होलीको रकमले किनेका सामग्री सुपथ शुल्कमा स्थानीय बासिन्दालाई भाडामा दिने गरेको कमिटीका कोषाध्यक्ष करवीर नाथले बताउनुभयो । उक्त भाडाबाट उठेको रकमले पनि थप सामग्री किन्ने गरेको श्रीकेदार भूमिराज होली कमिटीले जनाएको छ ।

 

अधिकांश युवाले होलीलाई मनोरञ्जनका रुपमा लिने गरेको भए पनि श्रीकोटका युवाले होलीबाट रकम संकलन गरेर सामाजिक कार्यमा लगाएर उदाहरणीय कार्य गरेका छन् । यस्तै होली कमिटीले स्थानीय जेष्ठ नागरिक तथा सामाजिक कार्यमा लागिरहेका विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

 

यसैबीच डिलाशैनी गाउँपालिका–३ स्थित दुर्गा मावि सिमारले होली खेलेर १ लाख ५३ हजार संकलन गरेको छ । सो रकमबाट विद्यालयका लागि आवश्यक टेन्ट र साउन्ड सिस्टम खरिद गरिने स्थानीय महेश बोहराले जानकारी दिनुभयो ।

 

होलीको महत्व जोगाउँदै युवा

 

परम्परागत होलीको महत्व र रौनक हराउँदै गएका बेला श्रीकोटका युवाले लगाताररुपमा केही वर्षयता होली खेलेर संस्कृति जोगाउनतर्फ लागेका छन् ।

 

पहिला संस्कार संस्कृति जोगाउँदै मौलिक पारामा गीत गाएर नाचेर होली खेलिने, होलीको महत्व नबुझी अहिले एकैछिन रमाइलोका लागि क्यासेट, मेमोरीकार्डमा गीत बजाएर नाच्ने र रङ दल्ने जमाना आयो, संस्कार, संस्कृति र पर्वको महत्व नै नबुझी जसरी मनाए पनि भयो, बढ्दो आधुनिकताका कारण संस्कार, संस्कृति परिवर्तन हुनुहुँदैन भनेर श्रीकोट युवा लागेका हुन् ।

 

पछिल्लो समय यो पर्व तडकभडक हुन थालेपछि बाह्य प्रभावका कारण मौलिक गीत गाउँदै नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ यसले पनि होलीको परम्परागत महत्व र रौनक हराउँदै गएको श्रीकेदार भूमिराज होली कमिटीका अध्यक्ष हरीश विष्टले बताउनुभयो ।

 

‘पहिले मनाइने र अहिले मनाइने होलीको संस्कृतिमा धेरै फरक रहेको छ’, अध्यक्ष विष्टले भन्नुभयो– ‘परम्परागत होलीको महत्व र रौनक हराउँदै गएका बेला हामी यसको संरक्षणमा लागेका छौं, अगामी वर्षमा पनि यो कार्य निरन्तररुपमा जारी रहन्छ ।’

 

युवा पुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र पर्व मान्ने चलन बढ्दै गएकाले चिन्ता बढ्दै गएको श्रीकोटका अर्का युवा नारायण भाटको भनाइ छ । ‘जतिसुकै आधुनिक भए पनि आफ्नो संस्कृति भुल्न हुँदैन’, उहाँले भन्नुभयो– ‘पछिल्लो समय संस्कृति संरक्षणका लागि आफूहरुले अभियान नै थालेका हौं ।’

 

युवामा पलाएको नयाँ सोचले अन्य युवालाई समेत प्रेरणा मिल्ने स्थानीय प्रेमसिंह धामीले बताउनुभयो ।