छोरोलाई चार तल्लाबाट फाल्ने पक्राउ

0
Shares

सेन्ट पावल, (एजेन्सी)

 

अमेरिकाको मिनेसोटा राज्यको सेन्ट पावल निवासी एकजना महिलाले आफूहरु बस्ने अपार्टमेन्टको चौंथो तल्लाको बार्दलीबाट एघार वर्षीय छोरोलाई फालेर गम्भीर घाइते बनाएको प्रहरीसमक्ष बताएकी छन्। तर उनले सो कार्य गर्नुको कारण भने नबताएको प्रहरीले जनाएको छ।

 

३३ वर्षीया इटेभिया लोयद नामक ती महिलालाई मंगलबार एकजना बालकलाई अमानवीय र क्रूर यातना दिएको तथा एकजना प्रहरी अधिकारीमाथि पनि आक्रमण गरेको अभियोगमा रामसे काउन्टि जेल चलान गरिएको छ।

 

सेन्ट पावलको सोही अपार्टमेन्टमा बस्ने एक व्यक्तिले सोमबार ती बालक बार्दलीबाट खसेको आशंकामा प्रहरीलाई खबर गरेका थिए।

 

प्रहरी प्रवक्ता स्टिभ लिडर्सले ती केटोलाई सिकिस्त घाइते भएको अवस्थामा भवनसामु भेटाइएको बताएका छन्। तर अनुसन्धानको क्रममा लोयले उनलाई पलङबाट तानेर बार्दलीबाट फालेको स्वीकारेकी थिइन्।

 

टाउकोमा चोट लागेका ती बालकको एउटा खुट्टा र बंगारा भाँचिएको छ। तर उनी बाँच्न सक्ने स्थितिमा रहेको प्रहरीले जनाएको छ। सोही अपार्टमेन्टमा रहेका उनका छ वर्षीय भाइ भने सकुशलै रहेका छन्।