नेपाल समाचारपत्र, बैतडी
बैतडीका स्थानीय तहहरूले पोषणमैत्री तह बनाउने घोषणा गर्न थालेका छन्। हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणको स्थितिमा सुधार ल्याउनका लागि पालिकाहरूले प्रतिबद्धतापत्र पारित गरेर योजना बनाउन थालेका हुन्।
स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितताका लागि आयोजना गोष्ठी आयोजना गर्दै पालिकाहरूले ती गोष्ठीबाट प्रतिबद्धतापत्र पारित गरेका हुन्। सुआहाराको प्राविधिक सहयोग र सम्बन्धित स्थानीय तहको आयोजनामा पोषणमैत्री स्थानीय तह बनाउनका लागि छलफल सञ्चालन गर्ने गरिएको सुआहाराका जिल्ला कार्यक्रम संयोजक नागेन्द्र धामीले जानकारी दिनुभयो। स्थानीय तहहरूले प्रतिबद्धतापत्र पारित गर्दै आगामी एक वर्षभित्र पोषणमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता जनाएका छन्।
जिल्लाको दोगडाकेदार गाउँपालिका, सूर्नया गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकाले पोषणमैत्री पालिकाका लागि प्रतिबद्धतापत्र पारित गरिसकेका धामीले बताउनुभयो।
हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सिगास गाउँपालिकाले ‘स्वस्थ परिवार सुपोषित बालबालिका, पोषणमैत्री हाम्रो गाउँपालिका’ भन्ने नारासहित प्रतिबद्धतापत्र पारित गरेको ढुंगाड स्वास्थ्य चौकीका इन्चार्ज हेमन्तसिंह साउदले जानकारी दिनुभयो। अन्य पालिकाले पनि पोषणमैत्री पालिका बनाउन विभिन्न नारासहित योजना बनाएको स्वदेशका फिल्ड संयोजक सुरेशदत्त भट्टले जानकारी दिनुभयो।
आउँदो १ वर्षभित्र गाउँपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने र २ वर्षभित्र दोगडाकेदार गाउँपालिकालाई नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा गरिने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो।
पोषणमैत्री घोषणाका लागि १४ वटा मापदण्ड पूरा गर्नुपर्ने दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो।











प्रतिक्रिया