अमेरिका बस्ने नेपालीले गरे सहयोग


काठमाडौं, (नेस)

अमेरिकामा बस्दै आएका नेपालीहरूले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका निम्ति सहयोग गरेका छन्। धेरैथरी रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ लाख २६ हजार ९ सय ८५ रुपियाँ बुधबार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको छ।

माडी गाउँपालिका–६ रोल्पा (साविक कोर्चावाङ) निवासी कर्णबहादुर बाँठामगर विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगन्जमा मिर्गौला, पत्थरी र जन्डिस रोगको उपचार गराइरहेका छन्।

पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिनुभयो। साथै, कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिति कमजोर भएका कारण उपचारमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।

संकलित उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई काठमाडौंमा भेटेर हस्तान्तरण गरिएको छ।